मङ्सिर २३ – बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्ना माग पूरा नभएको भन्दै शुक्रबार विभिन्न पार्टीका कार्यालय घेराउ गरेका छन् ।

प्रमाणीकरणमा अयोग्य ठहरिएका बहिर्गमित लडाकुहरूले केही समयदेखि विभिन्न माग राख्दै आएको र ती मागका बारेमा सरकार तथा ठूला राजनीतिक दल सकारात्मक नभएकोले राजनीतिक दलको पार्टी कार्यालय घेराउ गरिएको बहिर्गमित लडाकुका संयोजक सागर लिम्बुले जानकारी दिए ।

उनले नेपाली काँगे्रस, नेकपा (एमाले) र नेकपा–माओवादीको पार्टी कार्यालयमा एक÷एक घण्टा घेराउ गरिएको बताए ।

पार्टी कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले बहिर्गमित लडाकुहरूले उठाएका माग सकारात्मक भएको र आफूले ती माग पूरा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

आफूहरूमाथि लगाइएको अयोग्यको बिल्ला हटाउनुपर्ने, स्वेच्छिक अवकास पाएका लडाकुसरह आफूहरूलाई पनि आर्थिक प्याकेज दिनुपर्ने, संयुक्त राष्ट्रसङ्घीय शान्ति कोषमार्फत बर्हिगमित लडाकुको पुनःस्थापनको नाममा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन् ।

बर्हिगमित लडाकुहरू आफ्ना मागको सुनुवाइ हुनुपर्ने भन्दै गत मङ्सिर १३ गतेदेखि एमाओवादी मुख्यालय पेरिसडाँडामा धर्ना बसिरहेका छन् । रासस/फोटोः फाइल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।