नेपालमा जन्मिएर बलिउडमा अभिनेत्रीको रुपमा चर्चा र प्रख्याती कमाएकी अभिनेत्री मनिषा कोइरालाको पाठेघरमा क्यान्सर भएपछि उनको शल्यक्रिया गरिएको छ ।
आइतबार राजधानीको नर्भिक अस्पताल भर्ना गरिएकोमा अस्पतालले उपचारका लागि दिल्ली रेफर गरेपछि मंगलबार उनलाई जसलोक भर्ना गरिएको थियो । त्यसपछि बुधबार मुम्बईमा अवस्थित उक्त हस्पिटलमा उनको शल्यक्रिया गरिएको हो ।
मनिषाको क्यान्सर दोस्रो चरणमा रहेकाले सहजै शल्यक्रिया सम्पन्न भएको चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केहीअघिदेखि तल्लो पेटमा समस्या देखिएपछि मंसिर १२ गते अस्पताल भर्ना भएपछि उनमा पाठेघर क्यान्सर देखिएको थियो ।
सुरुमा नर्भिकका चिकित्सकले मनिषालाई ‘फुड प्वाइजनिङ’ आशंकामा उपचार भइरहेको बताएपछि उनमा एक्कासी क्यान्सर देखिएको बतायएको छ ।
‘मनिषा नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् । बिपीको परिवार नै क्यान्सरपीडित थियो ।
कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तिनैजनाको क्यान्सरबाट मृत्यु भएको थियो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो। चिकित्सकहरुले गिरिजाप्रसादलाई क्यान्सर भएको खबर अन्तिमसम्म गोप्य राखेका थिए। तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो।
चिकित्सकका अनुसार परिवार नै क्यान्सरपीडित हुनुमा वंशाणु प्रमुख कारण हो’ नागरिक दैनिकले उल्लेख गरेको छ ।