काठमाडौं १९ भदौ

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य (विघटित हेडक्वार्टर सदस्य) टंक राईले स्थानीय तहको निर्वाचनमा जनतालाई पैसा एमाले कांग्रेसको खाए पनि खाउ तर भोट माओवादीलाई देउ भन्नु गलत गरिएको बताएका छन् ।

नेता राईले भोट किन्नका लागि पुराना संसदवादी दल (एमाले कांग्रेस) ले पैसा दिएमा लिनु तर भोट चई हामीलाई हाल्नु है भन्नु गलत गरिएको बताएका हुन् ।
खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा आइतबार राजधानीमा आयोजित भेलामा बोल्दै नेता राईले एक त पैसा लिएपछि भोट अर्कैलाई हाल्नै नसक्ने र अर्को कुरा त्यसरी पैसा लिएर भोट आफूलाई माग्दा आफ्नो मताधिकारबारे सही कुरा र स्वाभिमानी कुरा सिकाउन नसकिएको बताए । ‘जनताले हुन्छ भाेट दिन्छु भनेर अरु पार्टीको पैसा लिएको छ भने उसले मतदान केन्द्रमा पुग्दा पैसा दिनेलाई पनि भेट्ने नै भए, भोट हाल्न आउनु भो भन्छन् हजुर भन्नैपर्यो, त्यहाँ पैसा दिनेलाई भेटेपछि नैतिक रुपमा पनि उसले भोट हाल्ने नै भयो, अर्को कुरा कतिपयले त भोट हाल्न सक्नुहुन्न कि भन्ने रहेछन् हजुर सक्दिन होला भनेपछि आफ्नै मान्छेलाई लगाउन लगाएर समेत भोट हालिदिए,’ राईले बैठकमा बोल्दै निर्देशनात्मक तरिकाले भने, ‘त्यो भन्नु गलत गरिएछ, हामीले स्वाभिमान पनि सिकाउन सकेनौं, अब त्यसो नगर्ने, तपाईको मताधिकार पैसामा नबिकाउनुहोस् भनेर भोट माग्नुहोस् । जे सही हो त्यहीँ भनेर भोट माग्नुस् ।’
नेता राईले कांग्रेस एमालेसँग पैसाको प्रतिस्पर्धा गरेर चुनाव जित्ने मानसिकता हटाउनुपर्ने समेत बताए । ‘केही साथीहरु पैसा नहुँदा चुनाव हारियो भन्नुहुन्छ, त्यसो होइन कांग्रेस एमालेसँग पैसा बाड्नेमा प्रतिस्पर्धा गर्ने नै होइन, हामी एक त पुराना संसदवादी पार्टी होइनौं दोस्रो हामी पैसा बाडेर होइन परिवर्तन र विकासका लागि केही गर्ने योजना बनाएर जनतामा जाने हो, पैसाले मात्र चुनाव जितिन्छ भन्ने नै होइन ।’ उनले भने ।
उनले खोटाङमा अब माओवादीलाई हार्ने छुट नभएको भन्दै केही भोटले अझै पनि अन्य दल भन्दा पछाडी रहेको तर सबै खटिदाँ जित्ने सम्भावना धेरै रहेको समेत बताए ।
उनले सबै परिवर्तनका एजेण्डा माओवादीले नै उठाएको र माओवादीबाट नै कार्यान्वयन हुँदै आएको भन्दै विकास र परिवर्तनका लागि माओवादीको विकल्प नभएको समेत बताए । भेलामा उनले प्रत्यक्ष निर्वाचित कार्यकारीले मात्र देशको दिगो विकास र परिवर्तन सम्भव रहेको र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्नेमा जोड दिएका थिए ।
भेलाले जित कुमार राईको अध्यक्षमा २७ सदस्यीय काठमाडौं–रुपाकोट मझुवागढी नगरपालिका सम्पर्क समिति गठन गरेको थियो ।
भेलामा सचिवालय सदस्यहरु टंक राई, जय राई, अमेम्बर राई, पोलिटब्यूरो सदस्यहरु रामकुमार राई (पासाङ), दुर्गा जयन्ती राई, पोल्युटव्युरो सदस्य तथा खोटाङ जिल्ला पार्टी इन्चार्ज ध्रुवकुमार बुढाथोकी (धिरेन), खोटाङ जिल्ला पार्टी अध्यक्ष देवान चाम्लिङ (पृथ्वी), केन्द्रिय सल्लाहकार सदस्य डा. धनप्रसाद सुवेदी तथा जिल्ला समिति सदस्यहरु उपस्थित थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।