एजेन्सी – फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोलाई मुलुकको चिकित्सक सङ्घले सार्वजनिक रूपमा चुरोट त्यागी जनताबीच उदाहरण बन्न आग्रह गरेपनि उनले उक्त कुरा नमानेको जानकारी उनका प्रवक्ताले शनिबार दिएका छन् ।
राष्ट्रपति अक्विनोले पटकपटक खोक्ने गरेको देखि सङ्घले उनलाई उक्त आग्रह गरेको प्रवक्ता एडविन लासिएर्दाले सरकारी रेडियोमा बताए ।
उनले राष्ट्रपति अक्विनोले अस्ट्रेलिया तथा न्युजिल्यान्डको भ्रमण गर्दा खोक्नुभएको देखिएको तर उक्त खोकी चुरोट सेवनका कारण नभइ फूलको परागका कारण भएको देखिएको जानकारी दिए ।
उनले हाल चुरोटको सेवन मात्र राष्ट्रपतिका लागि तनाव कम गर्ने उपाय भएको, राष्ट्रपतिले यस विषयलाई आफैँले समाधान गर्ने र उनलाई के कुरा महत्वपूर्ण छ भन्ने थाहा भएको पनि उल्लेख गरे ।
बाउन्न वर्षीय राष्ट्रपतिले नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लेगार्डसँगको भेट पनि रद्द गरेका थिए ।