मङ्सिर ८ – विभिन्न पार्टीमा असन्तुस्ट रहेको जनजाति नेताहरूसहित अशोक राईको नेतृत्वमा सङ्घीय समाजवादी पार्टी गठन भएको छ ।

बिहीबार राजधानीको नयाँबजारमा आयोजित कार्यक्रममा पार्टीको उपाध्यक्षहरूमा विजय सुब्बा, दुर्गामणि देवान, प्रेमकृष्ण पाठक, वीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी, गोपाल ठाकुर, महासचिवमा राजेन्द्र श्रेष्ठ, उपमहासचिवहरूमा अजम्वर राई काङमाङ, राधा तिमिल्सिना, नोर्साङ शेर्पा, मिना गुरुङ र सचिवहरूमा होरीलाल चौधरी, कर्णबहादुर बुढा मगर, रामसिंह यादव र डिवी नेपाली रहनुभएको ९८ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।

त्यस्तै डा मङ्गलसिद्धि मानन्धरको अध्यक्षतामा केन्द्रीय सल्लाहकार समिति, रणध्वज कन्दङ्वाको अध्यक्षतामा केन्द्रीय अनुशासन समिति, राजकुमार राईको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति र सुशीला श्रेष्ठको अध्यक्षतामा केन्द्रीय लेखापरीक्षण समिति गठन गरिएको जानकारी दिइयो ।

पार्टीले चतुर्भुज आकारको रातो र निलोको बीचमा सेतो रङको तारा भएको पार्टी झण्डासमेत कार्यक्रममा सार्वजनिक ग¥यो ।

पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष राईले उत्पीडित जाति, वर्ग, लिङ्ग, किसान, मजदूरलाई मुक्तिको प्रत्याभूति दिने उद्देश्यसहित नयाँ पार्टीको उदय भएको बताए ।

उनले संविधानसभाबाट उत्पीडितको पक्षमा संविधान लेखिने सम्भावना बढेपछि प्रमुख दलका केही नेताहरूले षड्यन्त्रमूलक ढङ्गले संविधानसभाको अवसान गराएको आरोप लगाए ।

उनले आफ्नो पार्टी केवल औपचारिक लोकतन्त्रको पक्षमा नभई समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारे ।

पार्टीले ‘वर्गीय मुक्तिका लागि समाजवाद, जातीय मुक्तिका लागि सङ्घीयता’ भन्ने मूल नारा तय गरेको जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।