मङ्सिर ८ – स्याङ्जा जिल्लाको फेदीखोला गाविस साल्मेडाँडामा प्रथम र दोस्रो विश्वयुद्धमा मारिएका र बेपत्ता पारिएका ६० हजार वीर गोर्खाहरूको स्मृतिमा गरिएको सामूहिक काजकिरिया तथा श्रद्धाञ्जलि आज सकिएको छ ।
गोर्खा भूतपूर्व सैनिक सङ्घको आयोजनामा मङ्लबारदेखि उक्त काजकिरिया सुरु गरिएको थियो । वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा उक्त कार्य सुरु गरिएको थियो ।
अठार जातजातिका धर्म गुरुहरू राखेर आ–आफ्नो सामाजिक संस्कारअनुसार सामूहिक काजकिरिया गरिएको थियो ।
सो ठाउँमा गोर्खा स्मारकको निर्माण गरिने भएको छ । उक्त कामको लागि करिब रु १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
त्यस क्षेत्रमा तीनसय रोपनी क्षेत्रफल रहेको जग्गामा गोर्खा स्मारकलगायत गोर्खा सङ्ग्रहालय जातीय साँस्कृतिक ग्राम, गोर्खा टावर, गोर्खा समाधि र डब्बा रेल निर्माण गरिनेसमेत सङ्घका अध्यक्ष पदमबहादुर गुरुङले बताए ।
उक्त सवै परियोजनाको लागि करिब रु तीन अर्ब लाग्ने बताइएको छ । आगामी पाँच वर्षभित्र पूरा गरिने लक्ष्य राखिएको उक्त परियोजनाको सम्पूर्ण खर्च भूतपूर्व सैनिक तथा अन्य सङ्घसंस्थाबाट जुटाइनेछ ।