कार्तिक ३० – भाइटीकाको उपलक्ष्यमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आज ११ बजेर २३ को शुभसाइतमा टीका लगाएका छन् ।

कांग्रेस सभापति सुशील कोइरालाले काठमाडौँको बाफलस्थित बहिनी शशी शर्माको हातबाट टीका लगाए । यता काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने जुठो परेकाले यसपालिको दसैँ र तिहारको टीका लगाएनन् । देउवाको बुवा र पौडेलको आमाको यसैवर्ष दिवंगत भएकाले दुवैले टीका नलगाएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले झापाको जुँगेखाडीस्थित दिदीको घरमा टीका लागाउनुभएको छ । उनी टीकाको लागि हिजो झापा गएका थिए ।

त्यसैगरी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले कुपण्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा एक दिदीसहित दुई बहिनीको हातबाट टीका लगाएका छन् ।

नेता नेपालसहित उहाँका दुई भाइ विनोद नेपाल र सरोज नेपालले दिदी कालिका भण्डारी र बहिनीहरुद्वय इन्दिरा न्यौपाने र बसुदा पोखरेलको हातबाट कुपण्डोलमा सामूहिक टीका लगाएका हुन् ।

यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बहिनी मञ्जु थापा, शान्ति सिजापति र सम्झना कार्कीको हातबाट ११:२३ को साइतमा टीका लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले बहिनी जयराज्यलक्ष्मी शाहबाट टीका ग्रहण गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट टीका लगाए ।

यसैबीच राष्ट्रपति डा रामवरण यादवले भने आज टीका लगाएनन् । सांस्कृतिक कारणले गर्दा राष्ट्रपतिले टीका नलगाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पनि भाइटीका लगाएनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।