नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको विभाजनले असफल भएको बताएका छन् ।
वीरगन्जमा आज बसेको पार्टी सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको समेत बताएका छन् ।
बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ । यस्तै, २ नम्बर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ । बैठकले तराई—मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
बैठकले राजनीतिक ध्रुवीकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले राजनीतिक ध्रुवीकरणको अभियानमा जोड गर्ने निर्णय पनि गरेको छ । बैठकमा भर्खरै मात्र माओवादी केन्द्रमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति राख्दै शक्तिशाली पार्टी निर्माणका लागि मुद्धा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिए ।
Comments