कात्तिक २९ – महान् चाड तिहारको परेवा तिथिका दिन आज देशभर परम्पराअनुसार गाई पूजा, गोरु पूजा र म्हःपूजा गरिँदै छ।
गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सिंगखुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ। गाईलाई “लक्ष्मीयां लोकपालानां धेनु रूपेण संस्थिता। घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु” मन्त्रद्वारा पूजा गरिन्छ।
यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ।
यस्तै आज नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण सदस्य बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ। आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आएको छ। आजकै दिनदेखि नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष प्रारम्भ हुन्छ। लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेको र सोही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो।
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विसं. २०५६ मङ्सिर २ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। यसैगरी गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिपरिषद्द्वारा विसं. २०६५ कात्तिक ७ मा राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रतिपादित यस संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । रासस