कात्तिक २३ – सप्तरीमा आज एक आपसमा बस ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पंसेरा–९ अमहामा आज सदरमुकाम राजविराजबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ६६३३ नम्बरको कालिका बस र काठमाडौँबाट फत्तेपुरतर्फ आउँदै गरेको ना४ख ४७३५ नम्बरको देउराली बस ठोकिन पुगेका हुन् ।

उक्त दुर्घटनामा कालिका बसका चालक राजविराज–८ निवासी रामचन्द्र गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कालिका बसमा सवार यात्रुहरु बढी मात्रामा घाइते भएका छन् । त्यस्तै देउराली बसका चालक इलाम राँके–३ निवासी ३५ वर्षीय कुमार लिम्बू गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको सिरहाको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।