कतिपय फेसबुक एकाउन्ट पासवर्ड बिना नै चलेपछि फेसबुकले आफ्नो साइटमा आएको नयाँ समस्या समाधानका लागि पहल थालेको छ । एउटा ह्याकर न्युज वेबसाइटमा बिना पासवर्ड फेसबुक चलेको जानकारी गराइएको थियो ।
उक्त सन्देशमा उल्लेख गरिएको लिंक गुगलमा सर्च गर्दा १३ लाख २० हजार फेसबुक एकाउन्ट भेटिएको बिबिसीले जनाएको छ । उक्त लिंक मार्फत सजिलै अरुको फेसबुक एकाउन्टमा बिना पासवर्ड लग इन गर्न सकिएको र अरु धेरै फेसबुक प्रयोगकर्ताको एकाउन्टको इमेल ठेगाना पनि फेला परेको समाचारमा जनाइएको छ ।
मोबाइल तथा इमेलमा आउने फेसबुकको स्टाटस अपडेट तथा नोटिफिकेसन एलर्टमा गएर छिटो र सजिलो तरिकाले फेसबुक लगइन गर्न सकिन्छ । यस्तो लिंक कसैले इन्टरनेटमा पोस्ट गरेपछि समस्या आएको हुनसक्ने समाचारमा उल्लेख छ ।
ह्याकर न्युजमा कमेन्ट गर्दै फेसबुकका सेक्युरिटी इन्जिनियर म्याट जोन्सले उक्त लिंक फेसबुक प्रयागकर्ताको इमेलमा मात्र पठाइने र यसरी पठाइका लिंक क्लिक गरेपछि एक्पायर हुने बताएका छन् । ‘सर्च इन्जिनले यस्ता लिंक तब मात्र पत्ता लगाउन सक्छन् जब यस्ता लिंक अनलाइन पोष्ट गरिन्छ’, उनले भनेका छन् । उनले राम्रो सुरक्षा सेवा नभएका मेल सेवाका कारण यस्तो समस्या आएको हुन सक्ने बताए ।
‘धेरै लिंकको म्याद सकिइसकेको छ । तर समस्या सार्वजनिक भएपछि हामी सतर्क भएका छौँ’, जोन्सले भनेका छन्, ‘एलर्ट लिंकमार्फत फेसबुकमा जान सक्ने सुविधा केही समयलाई बन्द भएको छ ।’ धेरै लिंकको म्याद सकिए पनि केहीको अझै बाँकी भएको हुन सक्ने उनले बताए ।
समस्याका कारण खुलिसकेका एकाउन्टको सुरक्षामा पनि ध्यान दिएको फेसबुकले जनाएको छ । यसरी खुलिसकेका एकाउन्ट रुस र चीनमा धेरै छन् ।
फेसबुकले विज्ञप्तिमा भनेको छ, “जुन लिंक मार्फत एकाउन्टहरु ह्याक भएका छन् , त्यो लिंक फेसबुक प्रयोगकर्ताको निजी इमेलमा मात्र पठाइन्छ र फेसबुकले कुनै पनि तरिकाले यसलाई सार्वजनिक गरेको छैन ।”
ति लिंक पछि कसैले अनलाइनमा पोष्ट गरेकाले नै यो समस्या आएको फेसबुकले जनाएको छ । विज्ञप्तिमा सुरक्षाका लागि राम्रै व्यवस्था गर्दागर्दै पनि समस्या आएको बताइएको छ ।
फेसबुकले त थप केही हुन नदिन सुरक्षाका लागि पाइला चालेकै होला, तर तपाईँले नी ?
फेसबुकको पासवर्डको सुरक्षामा ध्यान दिनुस् है । केही महिनाको अन्तरमा पासवर्ड परिवर्तन गर्नु र फेसबुक लगइन गर्न प्रयोग गरिने इमेलको सुरक्षामा ध्यान दिए अनलाइन दुनियामा सुरक्षित रहन सकिन्छ । -उज्यालोअनलाइन