खोटाङ, १८ कात्तिक । जिल्लामा यात्रुबाहक बसको सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्न रोक लगाइएको छ ।
सम्भावित सडक दुर्घटनालाई कम गर्न र यात्रुहरूको सुविधालाई दृष्टिगत गर्दै खोटाङ बस व्यवसायी सङ्घको पहलमा यस्तो रोक लगाइएको हो ।
सङ्घले जिल्लाको दिक्तेल–जयरामघाट सडकखण्डमा सञ्चालित बसमा सिट सङ्ख्याभन्दा बढी यात्रु राख्न र छतमा यात्रु राख्न रोक लगाएको खोटाङ बस व्यवसायी सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार बसको छतमा स्वयम् बसका स्टाफहरूलाई समेत बस्न रोक लगाइएको छ । अब बसको सिट भरिए लगत्तै जयरामघाट र दिक्तेलबाट बस छुटाउने निर्णय गरिएको सङ्घका सदस्य नयनकुमार राईको भनाइ छ ।
यस्तै यात्रुको चापलाई ध्यानमा राखेर बस व्यवसायी सङ्घले सदरमुकाम दिक्तेलबाट दैनिक तीनवटा र हुर्लुङबाट दैनिक एउटा यात्रुबाहक बस सञ्चालन गर्ने निर्णय गरेको सङ्घले जनाएको छ । रासस