नेपाल खाद्य संस्थानले आजदेखि दशैंका लागि खसीबोकाको बिक्री वितरण सुरु गरेको छ ।
थापाथलीस्थित अञ्चल कार्यालयबाट सर्वसाधारणलाई खसीबोका बिक्री वितरण सुरु गरेको हो ।
संस्थानले उपभोक्तालाई सुपथ मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्ष दसैँको समयमा काठमाडौँ उपत्यका बाहिरबाट खसीबोका खरिद गरी काठमाडौँमा ल्याएर बिक्री वितरण गर्ने गर्दछ । बजारमा मासुको मूल्य निर्धारणमा व्यवसायीको मनोमानीको अन्त्य गर्न संस्थानले सुलभ र सस्तो रुपमा मासु उपलब्ध गराउने गर्दछ ।
देशभरका विभिन्न स्थानहरुबाट स्वस्थ मासु आयात गर्ने गरिन्छ । संस्थानले अहिलेसम्म नेपालगन्जबाट ८६७ वटा खसी बोकाको स्वास्थ्य परीक्षण गरी ल्याएर थापाथलीस्थित संस्थानको अञ्चल कार्यालयमा राखिएको र खसीबोका ल्याउने क्रम जारी रहेको छ ।
संस्थानका प्रवक्ता इन्द्रप्रसाद सिटौलाका अनुसार संस्थानले यस वर्ष २५ किलोसम्मको खसीबोकालाई प्रतिकिलो रु. ३०४, सो भन्दा माथिका लागि रु ३१४ मूल्य निर्धारण गरेको छ । त्यसैगरी संस्थानले यस वर्ष करिब तीन हजार खसीबोका ल्याउनका लागि रु एक करोड ४२ लाख खर्च विनियोजन गरेको छ ।