असोज २९ – विद्यार्थी विवादका कारण दुई सातादेखि बन्द चितवनको सुविधा सम्पन्न रामपुर कृषि क्याम्पस खुलेको छ । तर भरतपुरमा रहेको अर्काे सप्तगण्डकी बहुमुखी क्याम्पस भने आजबाट अनिश्चितकालका लागि बन्द भएको छ ।

विद्यार्थी र क्याम्पस प्रशासनबीचको वार्ताबाट रामपुर क्याम्पस आजबाट सुचारु गर्ने सहमति बनेको रामपुर कृषि क्याम्पस चितवनले जनाएको छ ।

क्याम्पस खुलेपछि अवरुद्ध भएका भर्ना प्रक्रिया सुचारु भएको क्याम्पस प्रमुख श्यामसुन्दर पन्तले जानकारी दिए ।

आइतबार भएको वार्तामा दुई माओवादीबीचको विवादलाई छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रशासनले नियमित पठनपाठन सुचारु गर्ने र विद्यार्थीले गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति बनेको पन्तले जानकारी दिए ।

उनका अनुसार गत १३ गते यहाँ एनेकपा माओवादी र नेकपा–माओवादी पक्षधर विद्यार्थीबीचको विवादले भयावह स्थिति उत्पन्न भएपछि क्याम्पस बन्द हुन पुगेको थियो ।

विद्यार्थीले आफ्नो दबदबा राख्न झडप नै सिर्जना गरेपछि बाध्य भएर क्याम्पस प्रशासनले असोज १३ गतेदेखि क्याम्पस बन्द गरेको पन्तले बताए । प्रशासनले क्याम्पस बन्द गरेपछि पुनः विद्यार्थीले क्याम्पस प्रमुख, डिन कार्यालय र प्रशासन कार्यालयमा तालाबन्दी गरेकाले क्याम्पस दोहोरो बन्दको मारमा परेको थियो ।

यता आजबाट चितवनको सप्तगण्डकी क्याम्पस भने बन्द भएको छ । क्याम्पसको आन्तरिक परीक्षा कडा गरेको भन्दै विद्यार्थी सुकदेव काप्रीले प्राध्यापकमाथि हातपात गरेको आरोप लगाउँदै कलेजले उनलाई एक वर्षका लागि निस्कासन गरेको थियो ।

सोही विषयलाई लिएर अनेरास्ववियु चितवनले क्याम्पस अनिश्चितकालीन बन्द गराएको हो । सो विषयमा वार्ता भएरहेको क्याम्पस प्रशासनले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।