काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डले एक विज्ञप्तिमार्फत जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको बोर्डले जनाएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।