असोज १४ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि शनिबार राजधानीमै आक्रमण भएको छ । उनी माथि गरिएको सो आक्रमणको प्रयासमा कोइरालालाई केही नभए पनि अन्य दुई जना कार्यकता भने घाइते भएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं. ४ को भेला उद्घाटन गर्न शनिबार बिहान कपन पुगेका सभापति कोइरालामाथि प्रवेश बस्नेतले झ्यालको फ्रेमले प्रहार गर्ने प्रयास गर्दा कार्यक्रममा रहेका पार्टीका महामन्त्री प्रकाशमान सिंहले रोकेका थिए ।
पार्टी विवाद मिलाउन नसकेको आरोप लगाउँदै पूर्वसभासद् पुरुषोत्तम बस्नेतका भतिजा प्रवेशले सभापति कोइरालामाथि खादा लगाउने क्रममा झ्यालको फ्रेमले प्रहार गर्न खोज्दा सँगै महामन्त्री सिंहले रोकेपछि सभापति कोइरालालाई चोटपटक भने नलागेको जनाइएको छ ।
सभापति कोइरालामाथि आक्रमण गर्नुभन्दा अगाडि बस्नेतले क्षेत्रीय सचिवद्वय श्याम सङ्गत र नर्मदा पोखरेलमाथि आक्रमण गर्दा उनीहरूको अवस्था गम्भीर रहेको र उनीहरूको अहिले चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
उनीहरूको टाउकामा चोट लागेकाले अहिले आकस्मिक कक्षमा राखेर उपचार भइरहेकोे ओम अस्पतालले जनाएको छ ।
आक्रमणको कारण अझै पनि खुल्न नसकेको तथा आक्रमणकारी बस्नेतलाई आवश्यक अनुसन्धानका लागि अहिले बौद्धस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।
यसैबीच, नेवि सङ्घका कार्यकर्ता प्रवेश बस्नेतलाई नेवि सङ्घले साधारण सदस्यसमेत नरहने गरी दुई वर्षका लागि निश्कासित गरेको छ ।
नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले आक्रमणकारी बस्नेतलाई दुई वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।