विराटनगर १२ भदौ
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले एमाले जनताको पार्टी नै नभएको बताएका छन् । उनले एमालेले जनताका परिवर्तनको आन्दोलनमा खास योगदान नै नगरेको समेत बताए ।
‘एमालेको जनताको परिवर्तनको आन्दोलनमा खास योगदान पनि छैन,’ नेता बादलले विराटनगरमा प्रदेश एकको प्रशिक्षण तथा बैठकमा भने, ‘तर, जनतालाई भ्रम दिन, कनिका छर्न एमाले सिपालु छ, त्यसलाई हामीले चिर्नुपर्छ, जनसम्बन्ध नयाँ ढंगले सुदृढ गर्नुपर्छ ।’
बादलले आफूहरुले साम्यवादी ध्येय नभुलेको समेत बताएका छन् । उनले प्रगतिशील संविधान निर्माण गरेको भन्दै गणतन्त्र, संघीयताजस्ता उपलब्धिहरुलाई संस्थागत गरेर विकास र समृद्धिलाई सुदृढ पार्ने समेत बताए ।
उनले भने, ‘अबको हाम्रो जोड समाजवादको आधार तयार पार्नु हुनेछ। हामीले साम्यवादी ध्येय भुलेका छैनौं, साम्यवादी आदर्शप्रति हामी दृढ छौं।ू माओवादी केन्द्रको जनतासँगको सम्बन्ध टुटेको समेत उनले स्वीकार गरे । उनले भने, ‘हाम्रो जनतासँग सम्बन्ध टुटेको छ। अहिले हाम्रो सम्बन्ध सिंहदरबार र सुन्धाराका होटलहरुमा छ, यसरी पार्टी बन्दैन, तपाईहरु आफ्नै कार्यक्षेत्रमा जानुस्, जनताको दुखसुखमा साथी बन्नुस् । यसरी मात्र माओवादी पार्टी र आन्दोलनलाई नयाँ बनाउन सकिन्छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले क्रान्तिका उपलब्धि कुनै हालतमा उल्टाउन नदिने बताए ।
माओवादी केन्द्रको प्रदेश प्रशिक्षणमा बोल्दै नेता श्रेष्ठले भने, ‘संविधान जारी भए पनि प्रतिगमनले टाउको उठाउने खतरा थियो हाम्रो अध्यक्षको नेतृत्वमा बनेको सरकारले संविधान कार्यान्वयनलाई गुणात्मक गति दियो, स्थानीय तह बनेर स्थानीय चुनाव भयो।’
Comments