काठमाडौं १२ भदौ
नेकपा एमाले निकटको पत्रकार संगठन प्रेस चोतारी नेपालले नेपाल पत्रकार महासंघको हालै सम्पन्न २५ महाधिवेशनमा हार बेहोरेपछि नेतृत्वको राजीनामाको चर्चा चुलिएर गएको छ । 
एसकाठमाडौंबाट
महासंघको निर्वाचनमा पदाधिकारीमा शून्य नतिजा हुँदा पनि नेतृत्व तहमा बस्ने कसैले पनि राजीनामा भने दिएका छैनन् । तर, संगठनका अध्यक्ष लगायतले संगठनलाई जिताउन नसकेकोमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने  भन्दै तल्ला निकायबाट चर्को रुपमा आवाज उठेको बताइन्छ । 
चौतारी ललितपुरका अध्यक्षले भने संगठनलाई जिताउन नसकेको भन्दै राजीनामा दिईसकेको बताइन्छ । स्रोत भन्छ, ‘उनले दिएको राजीनामा पत्रमा नैतिकताका रुपमा राजीनामा दिएको उल्लेख छ ।’
सबैभन्दा ठूलो एक नम्बरको संगठन हुँदाहुँदै पनि पदाधिकारीमा कुनै पनि उम्मेदवारलाई जिताउन नेतृत्व असफल बनेपछि कार्यकर्ता तथा तल्लो निकायबाट नेतृत्वको राजीनामा माग भएको हो ।
चौतारी निकटको अनलाइन एसकाठमाडौं डटकममा छापिएको खबर अनुसार पूर्वअध्यक्ष राजेन्द्र अर्यालले पार्टी अध्यक्ष केपी ओलीलाई भेटेर अहिलेका अध्यक्ष गणेश बस्नेतलाई हटाउन नै माग गरेका छन् ।
समाचारमा यस्तो लेखिएको छः
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई बर्खास्तको माग गर्दै पूर्वअध्यक्ष राजेन्द्र अर्याल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेको तथ्य बाहिर आएको छ । शुक्रवार दिउँसो एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरे । ओली थाइल्याण्ड प्रस्थान गर्नुअघि बालकोटस्थित निवासमा पुगेर अर्यालले बर्खास्त गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
पत्रकार महासंघमा चौतारीका उम्मेद्धारहरु पराजित हुनुको मुख्य कारण अध्यक्ष गणेश बस्नेत र पार्टी प्रचारबिभागका उपप्रमुख सूर्य थापा भएको रिपोटिङ ओलीलाई गरेका थिए । स्रोतका अनुसार दुई जनाका कारण महासंघमा पराजित भएको उनले बताएका थिए । ‘अध्यक्ष गणेश जोसँग पनि रिसाउने र झर्केर बोल्ने, सुर्य थापा प्यूठानकै गोविन्द आचार्यलाई जिताउने खेल खेल्ने अनि कसरी जितिन्छ चुनाव रु’ ओलीसँग रिपोटिङ गर्दै अर्यालले भने ‘गणेशलाई पहिले नै नवनाउन मैले हजुरलाई भनेको थिएँ, अहिले संगठन ध्वस्त पारयो ।’
चौतारीभित्र चुनावमा व्यापक अन्तरघात भएको समेत चर्चा छ । महासचिवका उम्मेदवार बालकृष्ण बस्नेतले आफूलाई अन्तरघातकै कारण र चुनावमा जितबाट रोक्न जानजानसंगठनभित्रैका लागेकाले आफूले हारेको विषय फेसबुकमार्फत सार्वजनिक गरिसकेका छन् । 
त्यसो त एसकाठमाडौंले दोस्रो समाचारमा अध्यक्ष गणेश बस्नेतमाथि दुई विकल्प रहेको लेखेको छ, ‘पहिलो अन्तरघातीलाई कारवाही गरि संगठन बचाउने, दोस्रो असक्षमताको विल्ला भिरेर राजीनामा दिने । उनले भविश्यमा कुन बाटो रोज्छन्, चौतारीभित्र चासोको बिषय बनेको छ ।’ अनलाइनमा लेखिएको छ ।
भर्खरै मात्र चौतारी केन्द्रीय सदस्य निर्वाचित मोहन बास्तोलाले पनि नेतृत्वको आलोचना भएको र अन्तरघात रहेको कुरा यसरी खुलाएका छन् । तर अन्तिममा भने उनले नेतृत्वको बचाउ समेत गरेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।