असोज ११ – गस्तीमा निस्केको बेला प्रहरी जवानलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा सान्थ्रामा गाविस बस्ने श्यामबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खाम्लुङ–१ दोभानका प्रहरी जवान भूपाल आचार्यलाई गस्तीमा निस्केको बेला बुधबार राति ८ः३० अज्ञात व्यक्तिले पछाडिबाट ढाडमा छुरा हानेको थियो ।
धनकुटा निवासी २८ वर्षीय प्रहरी जवान आचार्यको घटनास्थलमै मृत्यु भएको थियो । सोही घटनामा अर्का प्रहरी २५ वर्षीय चन्द्र देवान राई घाइते भएका छन् । उनको दाहिने हातका नशा काटिएको छ । उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको ताप्लेजुङका प्रहरी निरीक्षक लोकदर्शन थापाको भनाई उदृत गर्दै राससले उल्लेख गरेको छ ।
गस्तीका क्रममा प्रहरी हवल्दार बवलेशकुमार यादवको नेतृत्वमा निस्केको पाँचजनाको गस्ती टोलीमाथि १०/१२ जनाको एक समूहले एक्कासि आक्रमण गरेको थियो । आक्रमणकारी मलामीका एक समूह भएको प्रहरीको अनुमान छ ।