असोज ३ – हिन्दु महिलाहरुको महान चाड तीजमा प्राय जसो सबै महिलाहरु माइत गएर सबैसँग भेला भई तीज मनाउने गर्छन । तर राजधानीमै भने एक महिलाले माइत जान्छु भन्दा खुकुरी खानु परेको छ ।
भक्तपुरस्थित गोठाटारकी सरीता चापागाईले दर खान माइत जान्छु भन्दा ससुराको अपशब्द सुन्नु पर्यो भने श्रीमान यादवको खुकुरी खानु परेको हो ।
यादवले सरीतालाई खुकुरी हानेपनि छिमेकी आएर रोकेका कारण उनको ज्यान भने बचेको छ ।
बिहे गर्दा दाइजोमा मोटरसाइकल नदिएको निहुँमा यसअघि पनि सरीता परिवारबाट कुटपिटको सिकार बन्दै आएको बताइन्छ । उनीहरुको १४ वर्ष अघि विवाह भएको थियो ।
सरिताले चार वर्षअघि चरम यातनापछि बिष पिउने प्रयाससमेत गरेकी थिइन । स्थनीयका अनुसार यादवले सरीतालाई ‘मारि छाड्छु’ भन्दै पटक(पटक कुटपिट गर्ने गरेका छन् ।
तर, त्यहाँ बोलेमा केही नलाग्ने भएकाले पटक पटक अन्याय अत्याचार सहेर उनी बस्दै आएकी छन् ।
तर हिजो भने माइती पक्षले उक्त घटनाको सन्दर्भमा प्रहरीमा उजुरी दिएका छन् भने प्रहरीले सरीताका श्रीमान यादव, ससुरा र अर्का एकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।