भदौ ३० – इस्लाम धर्मविरोधी चलचित्र बनाएको विरोधमा तीनदिनदेखि जारी अमेरिका विरोधी प्रदर्शन आज पनि विश्वका विभिन्न इस्लामिक देशहरुमा जारी नै रह्यो ।

इस्लाम धर्मविरोधी चलचित्र बनाएको भन्दै विश्वका इस्लामिक देशहरूमा अमेरिकाविरोधी प्रदर्शन जारी रहेको हो । प्रदर्शनका क्रममा आज अफगानिस्तानमा दुईजनाको मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तानमा तालिबानीहरुले आक्रमण गरी दुई अमेरिकी सैनिकको हत्या गरेका छन् ।

दक्षिणी अफगानिस्तानको हेल्मण्ड प्रान्तमा रहेको बेलायती राजकुमार ह्यारी रहेको क्याम्प बेसिनमा सो आक्रमण भएको थियो ।

तालिवानीहरुको प्रभाव क्षेत्र मानिएको सो क्षेत्रमा तालिवानीहरुले गतराति आक्रमण गरेको बताइएको छ । उनीहरुले इस्लाम धर्म विरोधी चलचित्रको निर्माण गरेको भन्दै अमेरिका विरोधी प्रदर्शन अफगानिस्तानमा पनि सुरु गरेका बताइएको छ ।

सो क्याम्पमा राजकुमार ह्यारी भने सकुसल रहेको बताइएको छ । उक्त क्याम्पमा तालिवनीहरुले ठूलो सङ्याका र शक्तिशाली हतियार प्रयोग गरेका पनि समाचारमा जनाइएको छ ।

त्यसैगरी आज यस्तो प्रदर्शन अष्ट्रेलियाको सिड्नीमा पनि सुरु भएको बताइएको छ । हिजो पाकिस्तानमा पनि यस्तै विरोध सुरु भएको थियो ।

इजिप्टको मुस्लिम ब्रदरहुड पार्टीले भने सो आन्दोलन फिर्ता लिएको जनाएको छ । यता यमनको सानास्थित अमेरिकी दूताबासमा भने आन्दोलन जारी नै रहेको बताइएको छ । त्यहाँ हिजो प्रदर्शनकारी तथा प्रहरीबीच भिडन्त भएको छ ।

‘इन्नोसेन्स अफ मुस्लिम्स’ नामक सो चलचित्रविरुद्ध शुक्रबार मोरक्को, सुडान, इजिप्ट, ट्युनिसिया एवम् लेबनानका अमेरिकी दूतावास बाहिर प्रदर्शन भएका छन् । कतिपय स्थानहरूमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरूलाई तितरबितर पनि पारेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वभर अमेरिकी दूतावासमा सुरक्षा व्यवस्था विस्तार गर्न आदेश दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।