भदौ २८ – नेपालमा गणतन्त्र स्थापनाका लागि लामो समयदेखि संघर्षमा होमिएका गणतन्त्रवादी पुराना एक ७७ वर्षिय नेता रामराजाप्रसाद सिंहको निधन भएको छ ।

पछिल्लो पटक उनको स्वास्थ्यस्थिति चिन्ताजनक अवस्थामा पुगेपछि उनलाई हिजोदेखि भेन्टिलेटरमा राखेर उपचार गरिदै आइएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले सिंहलाई कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मा राखेर मंगलबारदेखि उपचार गर्दै आएकोमा आज बिहान ६ बजे उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दुख्ने, स्मरण शक्ति कमजोर हुनेलगायत उच्च रक्तचाप एवम् मिर्गौलाको समस्या भएपछि सिंह त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत भदौ १७ गते उपचारका लागि भर्ना भएका थिए ।

नेपालमा गणतन्त्र स्थापनाको माग गर्दै विं सं २०४२ सालमा नारायणहिटी दरबार अगाडी, सिंहदरबार परिसर तथा देशका विभिन्न ठाउँमा उनैले बम विष्फोट समेत गराएका थिए ।

यसैबीच, राजकीय सम्मानका साथ उनको आजै अन्तिम संस्कार हुने भएको । सिंहको राजकीय सम्मानकासाथ अन्त्येष्टिको औपचारिक निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

यसअघि, नेता सिंहको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

सिंहको निधन लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल पुगेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।