भदौ २६ (रासस) – जिल्ला अनुगमन कास्कीले आज पोखराका मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसलले खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरेको पाएको छ ।
सबैजसो मासु पसल अव्यवस्थित, खुला ठाउँमा राखी बिक्री वितरण, झिँगा भन्केको र फोहोरी अवस्थामा मासु पसलेले उपभोक्तालाई मासुको बिक्री गरेको अनुगमन टोलीले पाएको थियो ।
पोखराको केआई सिंह पुलस्थित श्रेष्ठ फ्रेस हाउसको बाथरुममा मासुका लागि काट्न तयारी अवस्थामा राखिएका नौ बाख्रीसमेत अनुगमन टोलीले जफत गरेको छ ।
त्यस्तै बगरको ट्याक्सीचोकस्थित लक्ष्मी फ्रेस हाउस र सिर्जनाचोकको सिर्जना फ्रेस हाउसबाट दुई÷दुईवटा बाख्री पनि अनुगमन टोलीले जफत गरेको छ । उपभोक्ताको स्वास्थ्यको खेलबाड गर्दै अस्वस्थ्यकर र खसीको भन्दै बाख्रीको मासु बेच्ने ती मासु पसलबाट बिक्री गर्न राखिएको झन्डै १०० केजी मासु नष्ट गर्नाका साथै अनुगमन टोलीले मासु पसलमा समेत सिल गरेको छ ।
कारबाहीमा पर्ने अन्य मासुपसलमा सहारा मिट सप्लायर्स, सम्झना फ्रेस हाउस, खुस्बु पे्रmस हाउस छन् । ती अस्वस्थ्यकर मासु बिक्री गरेकामा कारबाहीमा परेका हुन् ।
उपभोक्ताको जीउज्यानसँग खेलबाड गर्दै जानीजानी खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने व्यापारीलाई कालोबजार र ठगी ऐनअन्तर्गत मुद्दा चलाउन सकिने र सो ऐनअन्तर्गत तीन महिना कैद र रु २५ हजार जरिवाना हुन सक्ने नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष प्रकाश सुवेदीले बताए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको नेतृत्वमा गएको अनुगमन टोलीमा उपभोक्ता मञ्च, पशु सेवा कार्यालय, प्रहरी र सञ्चारकर्मीको सहभागिता थियो ।