भदौ २६ – गुल्मीमा तीन दिनदेखि हराएका एक जना पत्रकार मृत अवस्थामा फेला परेका छन् ।

रेडियो स्काईमा कार्यरत गुल्मी मर्भुङ–१ निवासी ३० वर्षीय चन्दन नेपाली भ्यागुते खोलाको भिर तल फेला परेका हुन् ।
उनी गत मङ्गलबारदेखि हराएका नेपालीको स्थानीयवासी र सिमलटारीबाट खटिएको प्रहरीले खोजी कार्य गर्दै जाँदा आज मृत फेला परेका हुन् ।

गत मङ्गलबार साँझ स्थानीय हीरा पुरीको पसलमा बसेका नेपालीले आफ्ना भाइहरुलाई मादल लिन पठाएको र फर्की आउँदा त्यहाँ नभएको भाइहरुले बताएका थिए ।

दाजुलाई नदेखेपछि समाचार लिन तत्काल जहाँ पनि जाने मान्छे कतै गए होलान् भनेर भाइहरु हिँडेको र अर्को दिनसम्म पनि घर नआएपछि खोजी कार्य सुरु गरेका थिए ।

रेडियो स्काईका सिफ्ट इन्चार्ज विष्णु पौड्यालका अनुसार नेपाली गत वर्षदेखि त्यस क्षेत्रको समाचारदाता थिए ।

क्रान्तिकारी पत्रकार सङ्घ गुल्मीले सो घटनाको यथार्थ छानबिनका लागि माग गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।