भदौ २५ – सप्तरीमा आज एक महिलाका शव फेला परेको छ । त्यहाँ बरमझिया-७ का महेन्द्र सदाकी कान्छी श्रीमती २५ वर्षीया चन्द्रकलादेवी दासको घरमा शव फेला परेको हो ।
आफू गई हेर्दा खाटमा सुताइरहेको अवस्थामा छोरीको मृत शरीर देखेको मृतकका बुबा सोही वडाका जोगी दासले बताएको प्रहरीले जनाएको छ ।

गाउँले तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरेपछि ज्वार्इं महेन्द्रसहित उनका घरपरिवारका सदस्यहरु फरार रहेको मृतकका बुबा जोगीले बताए ।

ज्वाईं महेन्द्रले आफ्नै कोठाको सिलिङमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको बताए पनि आफूहरुलाई र प्रहरीलाई खबर नगरेको भन्दै मृतकका माइती पक्षले हत्याको आरोप लगाएका छन् ।

महेन्द्रको जेठी श्रीमतीतर्फ दुई छोरा र दुई छोरी छन् भने मृतक कान्छी चन्द्रकलादेवीतर्फ १० महिनाको काखे छोरा छ ।

दुई वर्ष अगाडि भागेर बिहे गरेपछि जेठी सौतेनीले सधैँजसो कुटपिट गर्ने गरेको मृतकका भाइ बिन्देश्वर दासले बताए । मृतकको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा परीक्षणका लागि ल्याइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।