भदौ २३, रासस – सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ–हेटौंडा सुरुङ मार्गको काम आगामी कात्तिकबाट सुरु हुने भएको छ ।

सरकारले निजी क्षेत्रलाई सो आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो ।
केही समय पहिले मात्रै सो आयोजनाको स्थलगत अध्ययनको काम सम्पन्न भएको हो ।

काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।

सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो ।

हेटाँैडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडाँैसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।

अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।

रु. २० अर्बको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।