भदौ २१ (रासस) – नुवाकोटमा एकैदिन तीन जनाले आत्महत्या गरी ज्यान फालेका छन् । आत्महत्या गरेकामध्ये एक छात्राले भने एसएलसी परीक्षामा अनुत्तिर्ण भएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बेलकोट गाविस–१ घर भएकी निरञ्जना उच्च माविकी १८ वर्षकी छात्रा गोमा पाण्डेले एसएलसीमा अनुत्तिर्ण भएपछि आज बिहान विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

हिजो भएको एसएलसी पूरक परीक्षाको नतिजामा पाण्डे अनुत्तिर्ण भएकी थिइन् ।

यस्तै, आज नै अन्य दुईजनाले पनि आत्महत्या गरेका छन् । विदुर नगरपालिका–६ की १८ वर्षीय किनीकुमारी कुमालले आज दिउँसो घरमा कोही नभएको बेला झुन्डिएर आत्महत्या गरेकी हुन् ।

च्वाडी पब्लिक उच्चमाविमा कक्षा ९ मा अध्ययनरत कुमालले लेखेको ‘सुसाइट नोट’मा प्रेममा धोका खाएकोले आत्महत्या गरेको आशय रहेको प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, घरायसी झगडाका कारण बेलकोट गाविस–२ का ४० वर्षीय साँहिला विकले पनि खेतबारीमा हाल्ने विषादी सेवन गरी आज बिहान आत्महत्या गरेका छन् ।

श्रीमतीसँगको झगडापछि विषसेवन गरी घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।