काठमाडौं ८ भदौ

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) ले ६ महिनाभित्र १ हजार युवालाई रोजगार दिने घोषणा गरेको छ ।

वाइसीएल नेपाली युवा विदेश पलायन भएकोप्रति चिन्ता जनाउँदै विदेश पलायन रोक्न आफै रोजगारीको सिर्जना गर्ने निर्णय गरेको हो ।

वाइसियलको २–४ भदौमा काठमाडौंमा सम्पन्न ‘एकताको राष्ट्रिय सम्मेलन’का निर्णयहरु सार्वजनिक गर्दै आफैबाट स्वरोजगार बन्ने अभियान सुरु गर्ने उद्देश्यले स्वदेशी उत्पादनको क्षेत्रमा संगठन तथा यूवा व्यवसायिको साझेदारीमा ६ महिनाभित्र एक हजार भन्दा बढी युवाहरुलाई रोजगार बनाउने घोषणा गरेको हो ।
वाइसीएलले राष्ट्रिय उद्योगहरु संचालन गर्न सरकार तथा राष्ट्रिय पूँजिपतिहरुसँग माग समेत गरेको छ ।

वाईसियलले सरकारी निकायमा हुने भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सूची तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान चलाउने निर्णय भएको समेत जनाएको छ ।

वाइसीएलले समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको प्रतिरोध गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज श्रीपालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वाइसियलले युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्काे गर्न बाध्य बनाउनेका विरुद्ध निर्णायक कदम चाल्ने पनि बताएको छ ।
वाइसियलले ७ वटै प्रदेशहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय लगायतका सार्वजनिक कार्यालयमा स्वंयमसेवकीय भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।

वाईसियलले संगठन सुदृढ तीन लाख बढी युवाहरुलाई संगठित गर्ने योजना समेत लिएको छ । वाइसियलले विभिन्न प्राकृतिक प्रकोपका घटनामा उद्दारको लागि तालिम प्राप्त स्वयमसेवक तयार गर्ने निर्णय पनि गरेको छ । उद्दारमा खटिनने स्वयमसेवकहरुलाई तालिम र प्रशिक्षण दिएर दक्ष बनाउने वाईसीएलले निर्णय गरेको छ ।

वाईसियलले चुनावमा पार्टीलाई जिताउन ‘जसको एजेण्डा, उसैलाई भोट’ नारा अन्र्तगत चुनावी परिचालनको पूरक अभियान संचालन गर्ने निर्णय पनि गरेको बताएको छ ।

आउँदो स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावमा पार्टीले गरेका राम्रा कामहरु र एजेण्डा जनता माझ बुझाउनका लागि पुरक अभियानका रुपमा कार्यक्रम सन्चालन गर्न लागिएको वाईसीएलले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।