काठमाडाैं
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् ।
२०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्डसमेत तोडेका छन् । भट्टराईले देउवाको २०५२ सालको रेकर्ड तोडदै ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएकाे खबर कान्तिपुरमा छ ।
के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ?
-राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ ।
-पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् ।
-यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ ।
-सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ ।
-सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ ।
-भाडाको घरमा बनाइने सुरक्षा पोस्ट र गार्ड घर निर्माणका लागि मन्त्रालयले छुट्टै खर्च गर्ने गर्दछ ।
-प्रत्येक राज्यमन्त्रीको स्वकीय सचिवालयका लागि उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई चालक र दुई कार्यालय सहयोगीका लागि सरकारले तलबसुविधा उपलब्ध गराउँछ ।
-एउटा राज्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारी लागि मात्र मासिक ३ लाख रुपैयाँभन्दा खर्च हुन्छ ।
-राज्यमन्त्रीहरूले गृह मन्त्रालयबाट एउटा, आफ्नो मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लाने गर्छन् ।
कानुनी रूपमा भने राज्यमन्त्रीले एउटा मात्र गाडी पाउँछन् ।
-अनधिकृत रूपमा प्रयोग गरिने तीनवटा गाडीका लागि चालक, इन्धन, मोबिल र मर्मत खर्चका नाममा महिनाको डेढ लाखभन्दा बढी खर्च हुन्छ ।
-मन्त्रीहरूले बिजुली, पानी, टेलिफोनको खर्च बिलबमोजिम लिने गर्छन् । त्यो खर्च नै प्रतिमन्त्री प्रतिमहिना २० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ ।
Comments