डिसीनेपाल डटकम संवाददाता – नेहरु कप फुटबल प्रतियोगितामा आज भारत र नेपालबीचको खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
भारतको नयाँदिल्लीमा जारी खेलको पहिलो हाफसम्म दुवै टोलि निर्धारित समयसम्म गोलरहित बराबरीमा खेलेका हुन् ।
भारत घरेलु मैदानमा नेपालमा गोल गरेर अगाडी बढ्ने कसरत गरि पनि नेपालले त्यसलाई रोक्न सफल भयो भने नेपालले यो खेलमा आफ्नो जित दर्ता गर्ने भरपुर कोसिस गरे पनि सफल हुन सकेन ।
बराबरीपछि भारत ७ अंक सहित तालिकाको पहिलो स्थानमा छ । नेपालले भने एक अंक मात्र बटुल्न सकेको छ । फाइनल पुग्ने संभावना सकिए पनि नेपालले आफ्नो अन्तिम खेल विहीवार सिरिया विरुद्ध खेल्ने छ ।
आजको खेलको दोश्रो हाफको इन्जुरी समयमा रोहित चन्द दोश्रो पहेंलो कार्ड पाउँदै बाहिरिए भने त्यसमा विवाद गरेपछि विकास सिंह क्षेत्रीलाई पनि रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाई दिएका थिए ।
नेहरु कपमा नेपालको यो तेस्रो खेल हो । यसअघि दुवै खेलमा नेपाल पराजित भएको छ ।
यसअघि माल्दिभ्ससँगको पहिलो खेलमै नेपाल २–१ ले हार बेहोर्न बाध्य भएको थियो भने निक्कै दह्रो मानिएको टोलि क्यामरुणसँग ५–० गोलमा हार बेहोरेको थियो ।
तर, भारतले भने यसअघिका दुवै खेलमा जित दर्ता गरिसकेको छ । भारतले यसअघिको खेलमा सिरिया र माल्दिभ्सलाई पाखा लगाएका थियो ।







