इनरुवा ३ भदौ । कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद पराजुलीले बताएका छन् ।
बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न सिडिओ पराजुलीले आग्रह गरे ।
उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गरे । आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताए । उनले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताए ।
अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्ने चेतावनी समेत दिए ।








