साउन २७ – देशको राजनीतिक अवस्था अस्तव्यस्त रहेको अवस्थामा आज राजधानीमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा शिर्ष नेताहरुले सहमति हुने कुनै पनि संकेत देखाएनन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा शिर्ष राजनीतिक दलका शीर्ष नेताहरूले सहमतिका लागि आ–आफ्ना सर्त अगाडि सारेका छन् ।
नेकपा–माओवादीले सानेपामा आयोजना गरेको राष्ट्रिय राजनीतिक अन्तरक्रिया कार्यक्रममा दलका नेताहरूले सहमतिका लागि भन्दै आ–आफ्ना अडान पेस गरेका हुन् ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमति गरेर संविधानसभाको पुनःस्थापनाबाट नै सहमतिका प्रयास गर्नुपर्ने बताए ।
संविधानसभाको विघटन हुनुमा नेपाली काँग्रेस र नेकपा (एमाले) दोषी रहेको भन्दै प्रचण्डले जातीय पहिचानसहित सङ्घीयताको पक्षमा ती दल आउनुको विकल्प नरहेको जिकिर गरे ।
संविधानसभा पुनःस्थापना भएको खण्डमा यसअघि दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुरूप सरकारको नेतृत्व काँग्रेसले गर्न सक्ने तर चुनावमा जाने स्थितिमा जुनसुकै दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने बताए ।
दलहरूबीच अविश्वासको अवस्था चुलिँदै गएको बताउँदै सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनेतर्फ दलहरू अगाडि सर्नुपर्ने धारणा राखे ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरूबीच यसअघि भएका सहमतिका बीचबाटै नयाँ सहमति खोजिनुपर्ने धारणा राखे ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गोलमेच सभाबाट नयाँ राष्ट्रिय सहमति खोज्नुपर्ने बताए । संसदीय निर्वाचनमा देशलाई लैजान खोजे मुलुक फेरि द्वन्द्वमा फस्ने उनको भनाई छ ।