साउन २७ – म्याग्दीको सदरमुकाम बेनीमा वर्षासँगै आएको बाढीले २ दर्जन बढी घरपरिवार प्रभावित भएका छन् ।
बेनीको क्याम्पस चोकका घरहरू बाढीको डुबानमा परेका छन् भने त्यहाँ राति बाढी आएपछि क्याम्पसचोकवासी रातभर जाग्राम बस्न बाध्य समेत भएका छन् । बाढीका कारण सो क्षेत्रका अन्य ५० घर डुबानमा परेको बताइएको छ ।
बेनी–पाखापानी सडकको आँपरुख खण्डबाट शुक्रबार राति बजारमा बाढी पसेको हो । सडक निर्माण गर्दा फालिएको माटो बगेर आएको बाढीले चोक वरपरका सडक पनि हिलाम्मे भएका छन् ।
सडक निर्माण गर्दा बस्तीलाई असर पु¥याउने गरी माटो थुपार्ने क्रम नरोकिएकोले बजारमा बाढी पसेको क्याम्पसचोकका बासिन्दाको भनाई छ ।
त्यहाँ घरभित्र एक फिटभन्दा बढी बाढीको पानी पसेको छ भने पसल र होटलभित्र सबै भल पसेर हिलैहिलो भएको छ ।
वर्षायाममा सो चोकमा ठूलो वर्षा हुँदा बाढी आउने गर्छ । चोकको सडकमा हिलो र बाढीका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ । बाढीले व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।
त्यहाँ बाढीबाट भएको क्षतिको एकिन नभएको प्रहरीले जनाएको छ ।