साउन २५ – आदिवासी जनजातिहरुले छुट्टै आफ्नो राजनीतिक पार्टी आज घोषणा गर्न लागेका छन् ।
पहिचान सहितको संघीयताका विषयमा मुख्य दलहरुले सकारात्मक भूमिका नखेलेको भन्दै असन्तुष्ट बनेका आदिवासी जनजाति नेताहरुले अलग पार्टीको नाम र अवधारणा सार्वजनिक गर्ने प्रकृया आजबाट सुरु गर्न लागेका हुन् ।
पार्टीको नाम, अवधारणा पत्र र विधान सार्वजनिक गर्न आजदेखि प्रकृयागत रुपमा अघि बढ्ने जनजाती नेताहरुको भनाई छ । पार्टीको नाम सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी प्रस्ताव गरिसकिएको छ ।
तर नयाँ पार्टी निर्माणको सो प्रकृयामा वामपन्थी पृष्ठभुमीका जनजाती नेताहरु भने सहभागि नहुने भएका छन् । नेपाली काँग्रेस निकट रहेर विगतमा काम गरेका प्रजातान्त्रिक पृष्ठभूमिका आदिवासी जनजातीहरु वाहुल्य भएको सामाजिक लोकतान्त्रिक वहुल राष्टिय पार्टीमा आफुहरुको सहभागिता नरहने छुट्टै पार्टी घोषणाको तयारीमा रहेका एमाले नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
नेपालमा १३ ओटा आदिवासी जनजाती पार्टी रहेकाले पार्टीका लागि मात्र पार्टी गठन प्रभावकारी नहुने भन्दै श्रेष्ठले वृहत गृहकार्य सहित माक्र्सवादमा आधारित श्रमिकहरुको पार्टी खोल्ने बताए ।
यसैवीच नयाँ पार्टी निर्माणको तयारीमा रहेका एमाले भित्रका आदिवासी जनजाती नेता र अध्यक्ष झलनाथ खनाल वीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
गएराती १२ बजे सम्म भएको छलफलमा कुनै निचोड ननिस्किएपछि आदिवासी जनजातीहरुले आफुहरुका तर्फबाट वार्ता बन्द भएको भन्दै खनाल निवास डल्लुबाट बाहिरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मध्यरात सम्म भएको छलफलमा अध्यक्ष खनाल माग पुरा गर्न निरीह देखिएपछि आफुहरु नयाँ पार्टी निर्माणको तयारीमा रहेको जानकारी सहित जनजाती नेताहरु बाहिरिएका थिए ।
एमालेबाट बाहिरिन लागेका आदिवासी जनजाती नेताहरुले कम्युनिष्ट सार भएको नेमकिपा जस्तै श्रमिकहरुलाई सम्बोधन गर्ने नाम राख्ने सोच बनाएको पनि स्रोतले जनाएको छ ।