साउन १३ – पूर्व
निर्वाचन आयुक्त भोजराज पोखरेल जतिबेला निर्वाचन आयुक्तमा पदबहाल थिए । अनि
उनले जागिर चट्टै छाडेर हार्बर्ड विश्वविद्यालय पढ्न लागे । १ वर्षे
पब्लिक एडमिनिष्ट्रेशनमा स्नातकोत्तर सिध्याएपछि उनी त राष्ट्रपति बन्ने रे
भन्ने कुरो पनि नचलेको होइन ।


पछिल्लो
समय देशको निकास खोजिरहेको अवस्थामा राजधानीमा आज आयोजित एक कार्यक्रममा
उनलाई प्रश्न गरिएको थियो कि अहिले राजनीतिक दलहरु भन्दा तेस्रो व्यक्ति
प्रधानमन्त्री हुनुपर्छ भन्ने आवाजहरु पनि उठिरहेको छ । यो अवस्थामा
तपाईलाई प्रधानमन्त्रीको प्रस्ताव गरेमा या त तपाई नै हुनुपर्छ भनेमा के
गर्नुहुन्छ ? उनी हाँसे । सायद पत्यार नलागेर होला । अनि उल्टै भने तपाईले
दिनुभएमा त हो नि ?

विद्यार्थी
युवा पत्रकार समूहको साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत ४२ औँ
श्रृंखलाको लगभग अन्तिममा सोधिएको थियो यो प्रश्न । युवा पुस्तालाई अवसर
नदिएको जस्ता उनका अन्य भनाईलाई लिएर हेर्ने हो भने पोखरेलका लागि
प्रधानमन्त्री या त राष्ट्रपति बन्ने इच्छा छैन कि क्या हो भन्ने पनि हुन
सक्छ । तर उनले थपेका थिए देशलाई संक्रमणबाट जोगाउन जसले जे सक्छ त्यो
गर्नुपर्छ र म पनि त्यसका लागि तयार छु । अतः उनलाई पनि देशलाई संक्रमणबाट
मुक्त गर भनेर जिम्मा दिएमा भने त्यो जिम्मेवारी पूरा गर्न उनी प्रतिवद्ध
छन् भन्ने उनको भनाईबाट छचल्किन्थ्यो ।

३०/३५
जनाको संख्यामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरु र केही पत्रकारहरुको
सहभागिता रहेको सो कार्यक्रममा उनले मंसिर ७ गते कुनै पनि हालतमा
संविधानसभाको निर्वाचन हुनै नसक्ने पनि बताए । पोखरेलले राजनीतिक आधार,
कानुनी आधार र प्राविधिक आधार कुनै पनि तयार नभएकाले मंसिर ७ गते निर्वाचन
हुनै नसक्ने उनले ठोकुवा गरे ।

रत्नराज्य
लक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीहरुद्वारा हरेक शनिबार बिहान ७
बजेदेखि  ९ बजेसम्म गरिने सो कार्यक्रममा पोखरेल विद्यार्थीहरुसँग निक्कै
खुलेका थिए । अन्तरक्रियामा विद्यार्थीहरुले प्रश्न गरिरहँदा विभिन्न
किसिमका प्रश्नहरु उनीमाथि जाई लाग्थे तर उनी सकर्तताका प्रश्नहरुको उत्तर
दिने गर्थे ।
युवा विद्यार्थीहरु भएर पनि होला धेरैको प्रश्न संविधानसभा विघटन र अब के हुन्छ भन्नेमा नै केन्द्रित देखिन्थ्यो ।

सो
क्रममा एक विद्यार्थीले प्रश्न गरिहाले- अबको निकास चाँही के हुन सक्छ त ?
उनले विद्यार्थीहरुलाई गाउँमा पुर्याए अनि बुढो साढे र बहर गोरुको उदाहरण
दिए । निक्कै रमाइलो उदाहरणिय शैलीमा उनको प्रतिक्रिया थियो कि– बुढो
साढेले बहरलाई चान्स दिएन भने हामी जसरी बुढो साढेलाई बाध्छौँ अब यो देशमा
पनि त्यसै गर्ने बेला आएको छ । यसो भनिरहँदा विद्यार्थीहरु बुझेर होस
या त नबुझेर खुबै चासो देखाएर हेरिरहेका थिए । उनले अझै सो उदाहरणलाई
स्पष्ट पार्न तिर लागे अनि उनले थपे अब यो देशमा युथ लिडरको आवश्यकता छ ।

देशको
राजनीतिक अवस्था र संविधानको विषयमा अन्तरक्रिया गरिरहँदा विद्यार्थीहरुमा
भने देशको वर्तमान अवस्थाले पिरोलिरहेको कुरा स्पष्टै देखिन्थ्यो । उनीहरु
प्रश्न गर्दा त्यही पुगी जान्थे कि अब के हुन्छ त देशमा ।

सो
क्रममा पूर्व गृह, सञ्चार, स्वास्थ्य सचिव लगायत रहेका उनले ४/५ जना
पार्टीका नेताले संविधानसभालाई बन्धक बनाएको आक्रोश पोखे । उनले दलहरुसँग
आ–आफ्ना एजेण्टा भएकोले त्यसलाई समायोजन गर्न दलहरु असफल भएकाले यो अवस्था
आएको जनाए ।

उनको
भनाई थियो– ‘दलहरु जहिल्यै संविधानसभा भन्दा पनि कुर्सी र सत्तामा
लागिरहे, प्रधानमन्त्री को हुने, कसलाई फाल्ने भन्नेमा उनीहरु केन्द्रित भए
त्यही भएर संविधान नबनेको हो ।’ उनले सोही क्रममा थपे प्रमुख दलले
संविधानसभालाई हाइज्याक गरे । त्यसो त उनले दलहरु कमजोर र अव्यवस्थित रहेको
पनि उल्लेख गरे । दलहरु कुनै पनि कुरामा पारदर्शी नै छैनन् उनको भनाई थियो ।

विद्यार्थीका
माझ पोखरेलले दलहरुबीच सहमतिको आवश्यकतालाई पनि निक्कै जोड दिए । जुन
सहमति रोडम्यापका लागि हुनुपर्ने भन्दै उनले उक्त रोडम्यापले संवैधानिक
तवरबाट संविधान संशोधन गर्नुपर्ने पनि बताए ।

त्यसो
त विद्यार्थीहरुमाझ उनले पोलिटिक्समा नजिक हुनुभन्दा पनि अलग हुनुमा जोड
दिएको बुझ्न सकिन्थ्यो । त्यहाँ उनले एक प्रसंगमा भनेका थिए ‘पोलिटिक्स
बन्मराको झार हो उम्रिन केही बेर लाग्दैन अनि त्यसले जमिन बिगार्न पनि कुनै
समय कुर्नुपर्दैन ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।