१० साउन । झाडापखालाको जोखिममा रहेको जाजरकोटमा यस वर्ष पनि यसको प्रकोप देखिन थालेको छ । झाडापखालाबाट सदरमुकाम खलङ्गा–६ रिसाङमा मङ्गलबार ७३ वर्षीय डिलाराम खड्काको मृत्यु भएको छ ।


एक्कासि झाडाबान्ता हुन थालेपछि सुरुमा धामीझाँक्री बोलाएर झारफुक गर्नतिर लागेको र अन्ततः सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै खड्काको मृत्यु भएको स्थानीय बिर्ख कार्कीले जानकारी दिए ।

सदरमुकाम नजिकै भए पनि समयमा उपचार नपाउँदा उनको अकालमा ज्यान गएको हो । वर्षा सुरु भएसँगै जिल्लाका विभिन्न क्षेत्रमा झाडापखालाका बिरामी देखापर्न थालेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र स्वास्थ्यकर्मीको अभाव भने कायमै रहेको छ ।

त्यसैगरी, बझाङको रिलु गाविसमा एक सातादेखि झाडापखाला फैलिएको छ । रिलु–८ थला गाउँसँगै उक्त गाविस– ५ र ६ मा झाडापखालाबाट २४ भन्दा बढी थला परेका छन् । झाडापखालाका कारण बिरामी परेकामध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीय केशव बोहराले बताए ।

उनका अनुसार अन्य पखालाका बिरामीको अवस्था सामान्य भए पनि उपचार अभावमा दिन प्रतिदिन उनीहरूको अवस्था पनि जटिल बन्दै गएको छ । रिलु उपस्वास्थ्यचौकीमा एक महिनादेखि अहेब छैनन् । अहेब नभएपछि कार्यालय सहयोगीले स्वास्थ्यचौकीमा आएका बिरामीलाई जीवनजलमात्र दिने गरेको स्थानीय बासिन्दाले बताए ।

स्थानीय जनक न्वालले भने– “स्वास्थ्यचौकीमा चिकित्सक नभएपछि झाडापखालाका बिरामीलाई निको पार्न पनि धामीझाँक्री र वैद्यलाई देखाउने गरेका छन् ।” यस्तै, वर्षायाम सुरुवातसँगै छार्ना, थलारा, बुगंल क्षेत्रका गाविसमा पनि झाडापखालाका बिरामी बढेका छन् ।

ती क्षेत्रमा समयमा नै उपचारको व्यवस्था गर्न नसके महामारीका रूपमा फैलन सक्ने खतरा बढेको र स्वच्छ खानेपानी अभावले बर्सेनि झाडापखाला देखिने गरेको सैनपसेलाका शिक्षक विष्णु दौत्यालले बताए ।

जिल्ला अस्पतालमा पनि एक सातायता दैनिक आठ÷दस जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सदरमुकाममै सञ्चालित अमिसा निजी अस्पतालमा पनि झाडापखालाका बिरामी दिन प्रतिदिन बढिरहेको सञ्चालक गङ्गा जोशीले बताउनुभयो ।

जिल्ला स्वास्थ्यप्रमुख चिकित्सक इन्द्रप्रसाद पौड्यालले यहाँ विभिन्न ठाउँमा झाडापखाला फैलिएको भन्ने जानकारी आएको र यसका लागि आफूले सबै स्वास्थ्य संस्थालाई औषधि उपचारमा खटिन निर्देशन दिएको उल्लेख गरे । उनले रिलु गाविसका बासिन्दा झाडापखालाले बढी प्रभावित रहेको जानकारीमा आएकाले त्यसतर्फ औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भइरहेको बताए ।

जिल्लामा झाडापखालाका लागि पर्याप्त औषधि रहेको भन्दै प्रमुख पौडेलले विभिन्न सञ्चारमाध्यममा झाडापखाला फैलिन नदिन चेतनामूलक सन्देश दिइरहेको बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।