साउन ८ – विगतमा गम्भीर किसिमका जघन्य अपराधमा संलग्न डनहरु पछिल्लो समय धमाधम राजनीतिको शरणमा आउन थालेका छन् ।
एक त उनीहरु प्रहरीको नजिरबाट उम्कन यता आएका हुन् भने दोस्रो कुरो उनीहरुले विगतमा यस्तो कार्यबाट कमाएको धन सम्पत्ति लुकाउने माध्यमका रुपमा पनि राजनीतिको पछि लागेका हुन् ।
उनीहरु राजनीतिको छत्रछायामा आएपछि राजनीतिक दबाबका कारण उनीहरु आज खुल्ला संसार तमासा देखाएर बाँच्न र हाँस्न समेत सफल भएको छन् ।
राजधानीका पुरानामध्येका डन साजन महर्जन आइतबार एमाले प्रवेश गरे । डल्लु क्षेत्रका डनका रूपमा चिनिने महर्जन युवा संघको कार्यकर्ता भेलाका अवसरमा आइतबार एमालेमा प्रवेश गरेका हुन् ।
आफ्ना एक दर्जन सहयोगीसहित उनी युवा संघको कार्यक्रममा एमालेमा प्रवेश गरेका थिए ।
एमाले नेता केपी शर्मा ओलीले फूलमाला लगाएर डन महर्जनलाई पार्टी प्रवेश गराएका थिए । ठमेल क्षेत्रका डन दीपक मनाङेसँग उनको लामो समय टक्कर थियो ।
प्रहरीको रेडर्कमा उनले मनाङेमाथि दुईपटक खुकुरी आक्रमण गरेका थिए । पछिल्लो केही समययता भने महर्जनको आपराधिक रेकर्ड छैन । तर, उनले अवैध कामबाट रकम कमाएको हुनसक्ने आशंका प्रहरीको छ ।
उनको सम्पत्तिमाथि छानबिनको तयारी भइरहेको छ । महर्जनले आफू पहिले गलत काममा लागेको तर अहिले सुध्रिएको दाबी गरेका छन् । ‘कुनै दिन गलत काममा लागियो होला, अब म त्यस्तो छैन’, एमाले प्रवेशपछि डन महर्जनले भने, ‘अब म पूर्णरूपमा राजनीति र समाजसेवामा सक्रिय हुनेछु ।’
आफूमाथि आक्रमण हुँदा प्रतिकारमा उत्रेको पनि महर्जनले बताएका छन् । आफूलाई विभिन्न पार्टीले प्रवेशका लागि आग्रह गरेको तर एमाले मन परेकाले प्रवेश गरेको उनको भनाइ थियो । प्रहरीबाट सुरक्षित हुनभन्दा पनि राजनीतिमै सक्रिय हुन पार्टीमा प्रवेश गरेको उनको दाबी थियो ।
कुन डन कुन पार्टीमा
राजधानीमा डनका रूपमा चिनिएका अन्य व्यक्तिहरू पनि पछिल्लो समय राजनीतिमा लागेका छन् । दीपक मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बनेका छन् । मिलन चक्रे भने पहिलेदेखि नै एमालेमा आबद्ध छन् । अर्का डन गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य छन् ।
यसैगरी दिनेश अधिकारी ९चरी० एमालेकै धादिङ क्षेत्रीय उपाध्यक्ष हुन् । रोज राणा कांग्रेस तरुण दलको सांस्कृतिक विभाग केन्द्रीय सदस्यमा छन् । ६ महिनाअघि जेलबाट छुटेका राजु गोर्खाली पनि कांग्रेसमै आबद्ध छन् । कुमार घैंटेसमेत कांग्रेस नेताहरूकै छत्रछायामा छन् ।
गोठाटार गोलीकाण्डमा जेल परी गत महिना छुटेका सञ्जीव लामा ुस्यालु आइतबारै कांग्रेस सभापति सुशील कोइरालाको हातबाट टीका लगाई काभ्रेको बनेपामा कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रहरी अधिकारीहरू अवैध गतिविधिविरुद्ध प्रशासन आक्रामक भएकाले डनहरू राजनीतिक संरक्षणमा लागेको बताउँछन् । प्रहरीले पछिल्लो समयमा डनहरूको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ ।
राजनीतिक दबाबकै कारण प्रहरीले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत मुद्दा चलाउन सकेको थिएन ।
|