काठमाडौं ८ माघ ।

आइतबार (७ माघ) का दिन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सपथ लिन प्रदेश सांसदहरु उपस्थित थिए ।
शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा थिए । कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा थिए । एक पुरुष सदस्यले टाउकामा फेटा बाँधेका थिए । संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा थिए । 
त्यहाँको वातावरण हेर्न लायक देखिन्थ्यो । सांसदहरु पनि पाँच वर्षका लागि सपथ लिन लागेकोमा खुसी देखिन्थे ।
अघिल्लो पट्टी विशिष्ट व्यक्तिको तस्वीर राखिएको थियो । सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो । त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।
तस्बीरमा विभिन्न पूर्व प्रधानमन्त्रीको नाम राखिदाँ माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र हाल नयाँ शक्ति नेपालको संयोजक रहेका डा. बाबुराम भट्टराईको नाम भने थिएन । एक सांसदले त सोधी हालें– प्रचण्ड बाबुरामको फोटो चई खई ? 
त्यसपछि बल्ल रहस्य खुल्यो- अगाडी राखिएका विशिष्ट व्यक्तिहरु १ नं प्रदेशमा भएकाहरुलाई मात्रै समेटिएको थियो । त्यसो हुँदा प्रदेश तीनका प्रचण्ड र प्रदेश चारका बाबुराम पूर्वप्रधानमन्त्री भए पनि नसमेटिएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।