काठमाडौं ८ माघ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक २५ पुसमा निर्वाचनपछि पहिलो पटक बस्यो । 
पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विषय विवादमा रहेको बेला बसेको बैठकले एकताका लागि वैचारिक र संगठनात्मक कार्यदल गठन गर्ने तयारी गरेको थियो । बैठकमा भने अझै केही छलफल तथा तयारी गर्ने र अर्को बैठकमा कार्यदल गठन गर्ने निर्णय भयो । सोही निर्णय नेताहरुले पत्रकारहरुसँग सार्वजनिक गरे ।

लगत्तै एमाले अध्यक्ष थाइल्याण्ड प्रस्थान गरे । उनी स्वदेश फर्किएपछि आइतबार ७ माघमा एकता संयोजन समितिको बैठक बस्यो । उक्त बैठकमा पनि संगठन र वैचारिक तथा सैद्धान्तिक विषयको तयारी सम्बन्धी कार्यदल भने बन्न सकेन ।
बैठक बस्न अघि दुई पटक ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । संयोजन समितिको बैठकमा भने दुवै अध्यक्षले आफूहरुबिच पार्टी एकताको विषयमा सकरात्मक वातावरणमा छलफल भईरहेको बताएका थिए । दुवै अध्यक्षले फेरि हामी १÷२ दिन छलफल गछौं अनि कार्यदल बनाउने भन्ने प्रस्ताव समेत राखे ।
अध्यक्षद्धयको प्रस्तावपछि बैठकमा पार्टी एकताको विषयमा छलफल भएन भने कार्यदल समेत बनेन ।
एमाले बरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताको विषयमा बैठकमा छलफल नभएको बताउँछन् । उनले अध्यक्षद्धयले अझै केही दिन छलफल गछौं अनि कार्यदल बनाउने बताएपछि छलफल नभएको बताए ।
अब अर्को बैठक कहिले बस्ने भन्ने विषय भने टुंगो छैन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको छलफलपछि पुनः बैठक बस्ने बताए, उनले बैठक कहिले बस्ने भन्नेबारे कुनै निर्णय नभएको जानकारी दिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।