त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा अनौठो दृश्य देखा पर्यो । त्यहाँ झण्डै तीन घण्टादेखि बत्ति गएको थियो । चेक जाँचमा खटिएका प्रहरी बत्ति नभएकाले एक्सरे मेसिन नचलेपछि धमाधम यात्रुहरुको ब्याग तथा शरीर चेक गरिहेका थिए । त्यही क्रममा एउटी महिला हवल्दार त्यही लाइनबाटै फुत्तै रुँदै रुँदै बाहिरिइन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीर चेक जाँच गर्दा आफूलाई नचिनेको भन्दै नेपाल प्रहरीकी डिआईजी पार्वती थापाले एक प्रहरीलाई चड्कन लगाएपछिको घटना हो यो ।

डिआईजी थापा बुद्ध एयरबाट नेपालगन्ज जान लाग्दा उनलाई शरीर चेक जाँच गर्ने हवल्दार महिलाले दुई चड्कन खाएकी हुन् । आफूलाई नचिन्ने भन्दै प्रहरी हवल्दार बिना दराईलाई डिआईजी थापाले दुई चड्कन लगाएकी हुन् ।

विमानस्थलमा बत्ति नभएकाले एक्सरे मेसिन नचलेपछि सबै यात्रुका झोला प्रहरीले चेक गरिरहेको अवस्थामा उनी पनि त्यहाँ पुगेको र उनको झोला चेक जाँच गर्दा डिआईजीले हात हालेकी हुन् ।
हवल्दार दराईले डिआईजी थापालाई पनि अन्य सामान्य मानिस झै चेक जाँच गरेकी थिइन् । सोही क्रममा उनले दराईलाई पिटेकी हुन् ।

तर विमास्थलका डिआईजी नारायण बस्ताकोटीले भने त्यहाँ त्यस्तो नभएको तर सामान्य गाली मात्रै गरेको हुन सक्ने बताएका छन् । उनले दराईले पिटाई नखाएको दाबी समेत गरेर घटनाको ढाकछोप समेत गर्न खोजेका छन् ।

यता, हवल्दार दराई भने कुटाई खाएपछि रुँदै चेक जाँच छाडेर बाहिर आएकी थिइन् । त्यसपछि उनी रुँदै रुँदै नै इन्चार्जको पुगेर आफूले राम्ररी ड्युटी गर्दा कुटाई खाएको दुखेसो सुनाएकी थिइन् ।
डिआईजी थापा भने दुई चड्कन हानेर सिँधै एयरपोर्ट भित्र पसेर नेपालगन्ज उडेकी थिइन् । डिआईजी थापा अहिले सञ्चारमाध्यमको सम्पर्क बाहिर छिन् ।

त्यहाँ आज भएको घटना बुझ्दा डिआईजीलाई पनि अन्य सामान्य व्यत्ति झै चेक जाँच गरेकाले हिर्काएको बताइएको छ । तर सार्वजनिक स्थलमा सादा पोसाकमा आएर चिनिनस् भन्दै पिट्नु भने डिआईजीको गल्ति रहेको छ । उनले लाइनमा बस्न मन नभएको वा बिना जाँचै जानुपर्ने भए विशिष्ट व्यक्ति जाने मार्गबाट जान सक्ने थिइन् ।

३ घण्टाभन्दा बढी समय बत्ती गएकोले सबै झोलादेखि मान्छे सम्पूर्णको जाँच गर्नुपर्ने थियो एक प्रहरीले भने– ‘त्यस्तो स्थितिमा डिआईजी साबबाटै पिटाई खाइन्छ भने हाम्रो मनोबल के होला त ।’

यता, हवल्दार दराईले भने कुटाई खाएपछि लापरबाही गरेर जाँच गर्न भएन, राम्रमरी गर्दा पिटाई खाइयो भन्दै भक्कानो छाडेर रुएको त्यहाँ पुगेका यात्रुहरुले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।