असार २७ – मातृका यादव संयोजक रहेको नेकपा माओवादीले आज एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर घेराउ गर्ने भएको छ ।
सो पार्टीले ठूला दलका ठूला नेता शान्ति, संविधान र अग्रगमनविरोधी भएको भन्दै तिनका निवास घेराऊ अभियान थालेको हो ।

यसअघि माओवादीले कांग्रेस एमालेका शिर्ष नेताको घर घेराउ गरीसकेको छ ।

संविधानसभा भंग गरेर ठूला दलले जनविरोधी काम गरेको भन्दै उनीहरुले राज्यकोषबाट लिएको सबै सुविधा फिर्ता गर्नुपर्ने माग गर्दै यस्तो अभियान थालेको हो ।

एमाओवादी, काँग्रेस, एमाले साथै तथाकथित मधेशवादी दलका शीर्ष नेताहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई भित्तामा पुर्याएर देशी–विदेशी प्रतिक्रियावादको निर्देशनमा जनप्रतिनिधि संस्था संविधानसभालाई विघटन गराएर आफूलाई एकमात्र मुलुकको शासनसत्ताको ठेकदार ठान्दै सत्ता भागवण्डा र विदेशीको दलाली गर्न नाङ्गो प्रतिस्पर्धा गरिरहेकाले स्वघोषित ठूला दलका प्रमुख नेताको निवास घेराउ तथा भण्डाफोर गरिएको उसले जनाएको छ ।

ठूलादल र नेताहरु सत्ता लिप्सामा लागेकाले नेताहरुको खवरदारी गर्नु परेको उनीहरुको भनाई छ ।

मुलुकमा भ्रष्टाचार, महंगी, कालोबजारी बढेर आकाश छुँदा पनि नियन्त्रण नगरेको भन्दै उनीहरुले शिर्ष नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।