असार १६ – नवगठित नेकपा माओवादी र पुरानै एकीकृत नेकपा माओावादीबीच आज चितवनमा हानाहान भएको छ ।
कार्यालयको विषयलाई लिएर चितवनमा दुई माओवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

एकीकृत माओवादी र नेकपा-माओवादी दुवैले त्यहाँ रहेको पार्टी कार्यालय आफ्नो पक्षमा पार्न खोज्दा झडप भएको हो ।

भरतपुर-६ स्थित कृष्णनगरमा रहेको पार्टी कार्यालय वैद्यपक्षले कब्जा जमाएपछि दाहाल पक्षले पार्टी कार्यालय खाली गर्न अल्टिमेटम दिएको थियो ।

कार्यालय खाली नभएपछि दाहाल पक्षीय कार्यकर्ताहरु शनिबार दलबल सहित कार्यालयमा कार्यक्रम गर्न पुगेका बेला दुई पक्षबीच झडप भएको हो ।

एमाओवादी फुटेपछि कार्यालयहरुमा विवाद उत्पन्न हुँदै आएको छ । अहिलेसम्म जुन कार्यालयमा जुन पार्टीको बहुमत छ त्यहीले बस्दै आएका छन् । तर पनि एमाओवादीले भने आफ्नो बहुमत नभएको ठाउँमा पनि हस्तक्षेप गर्दै आएको छ ।

आज त्यहाँ भएको झडपमा भने दुवै पक्षका कम्तीमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल पुर्‍याइएको छ । दुवैपक्षले पार्टी कार्यालयबाट एक अर्काको साइन बोर्ड हटाउन खोज्दा हिंसात्मक झडप सुरु भएको हो ।

प्रहरीले हस्तक्षेप गरी पार्टी कार्यालयलाई आफ्नो नियन्त्रणमा लिएको छ । दुवै पक्ष फेरि मुठभेड गर्ने तयारीमा जुटेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।