असार १४ – सार्वजनिक स्थानमा धुम्रपान गरेर हिड्ने ७२ जना प्रहरी खोरमा पुगेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि हिजोदेखि कडाई गरेको हो ।

सार्वजनिक स्थानमा धुम्रपान गर्ने क्रमलाई रोकी अन्य मानिसलाई त्यसको जोखिमबाट बचाउने उद्देश्यले प्रहरीले अभियानस्वरुप सक्रियता बढाएको बताएको छ ।

नेपालमा सार्वजनिक रुपमा धुम्रपान गर्नेलाई कारबाही हुने कानुन नै भएपनि यसको कार्यान्वयन हुन सकिरहेको छैन । कानुन लागू भएपछि केही समय अगाडी प्रहरीले केहीलाई पक्राउ गरेर चर्चामा आउने मेलो मात्रै गरेको थियो ।

यस्तै हिजो पनि महानगरीय प्रहरी परिसर काठमाडौँले सार्वजनिक स्थलमा धुम्रपान गर्ने ७२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौँको दरबारमार्ग, वीरअस्पताल परिसर, रत्नपार्क, सिंहदरबार परिसर र नयाँ बानेश्वर क्षेत्रबाट धुम्रपान गरिरहेको अवस्थामा ७२ जनालाई नियन्त्रणमा लिएका प्रहरीले बताएको छ ।

उनीहरुलाई अहिले कडा कारबाही नगरिने र सचेत गराएर सबैलाई हरेक व्यक्ति रु १०० जरिवाना गराएर छाडिने प्रहरीले बताएको छ ।

राजधानीका अन्य संवेदनशील स्थानमा धुम्रपान गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कारवाही गरिने र यस अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले उदघोष गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।