काठमाडौँ, २७ साउन । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका नेताहरुले सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज बिहान पुगेका विद्यार्थी नेताहरुले न्याय माग्दा मृत्यु पाउने रीतको अन्त्य हुनुपर्ने, शिक्षाविद् केदारभक्त माथेमाको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य विधेयक यथाशीघ्र पारित गरिनुपर्ने, शान्तिपूर्णरुपमा माग राख्ने नागरिकको मानवअधिकारको रक्षा गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

कार्यक्रममा नेविसंघका नेता दीपक भट्टराई, सहमहामन्त्रीद्वय साधना घिमिरे र ललिता सुनारलगायत ३५ जना केन्द्रीय सदस्य एवं उपत्यकास्थित क्याम्पसका एकाइ सभापतिहरुको उपस्थिति रहेको केन्द्रीय सदस्य तेजबहादुर बानियाँले जानकारी दिए ।

सो अवसरमा नेताहरुले केसीको माग पूरा गरी छिटो अनशन तोडाउने पहल गर्न सरकारसँग माग पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।