असार २ – खेलकुदका विभिन्न विधामा पुरुष तथा महिला खेलाडीले भिन्दाभिन्दै समूह बनाएर खेल खेलेको हामी सबैले देखेका छौं । तर अब नेपालमा पहिलो पटक अनौठो खेलकुदको दृष्य देखिने छ, जसमा तेस्रो लिङ्गी खेलाडीले भाग लिनेछन् ।
आगामी असोज २६ देखि २८ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुन लागेको यो प्रतियोगिताको नाम हो ‘प्रथम तेस्रो लिङ्गी खेलकुद प्रतियोगिता’ । यस प्रतियोगितामा तीनसयभन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा तेस्रो लिङ्गी खेलाडीहरूको सहभागिता हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) का संस्थापक अध्यक्ष सुनिल बाबु पन्तले जानकारी दिए ।
प्रतियोगितामा देशका ४० भन्दा बढी जिल्लामा रहेका तेस्रो लिङ्गी प्रतिभावान खेलाडीहरूको सहभागिता हुने पन्तले बताउनुभयो । तेस्रो लिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण र अपमानले गर्दा कतिपय खेलाडीहरू चाहेर पनि यो प्रतियोगितामा सामेल हुन नसक्ने आशङ्का पनि पन्तको थियो ।
पन्तका अनुसार नेपालमा अहिलेसम्म खुलेर आएका तेस्रो लिङ्गी नागरिकको सङ्ख्या २५ लाख भन्दा कम छैन ।
उक्त प्रतियोगितामा खेलाडीहरूले फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, कपर्दी र मार्शलआर्टमा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि अष्ट्रेलिया सरकारले २० हजार अमेरिकी डलर सहयोग गरेको ब्लु डाइमन्ड सोसाइटीकी सदस्य भूमिका श्रेष्ठले जनाए । नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदले पनि प्रतियोगितालाई आर्थिक तथा भौतिकरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
खेलकुदको माध्यमले यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक नागरिक स्वस्थ्य रहने, समाजमा अनुशासन कायम गर्न मद्धत पु¥याउने, समुदायमा आफु तेस्रो लिङ्गी हुँ भनेर खुल्न मद्धत पु¥याउने तेस्रो लिङ्गी खेलाडी बद्री पुनको भनाई छ ।