काठमाडौँ, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा उनले भने –“एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।”

अध्यक्ष ओलीले ‘‘एमालेसँग प्रतिस्पर्धा गर्न दम कुनै पार्टीले राख्न सक्दैनन्” भन्दै “केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न खोजेका छन्,” बताए ।

वैचारिक, नीतिगत र सांगठनिक हिसाबले सबभन्दा ठूलो पार्टी एमाले भएको बताउँदै उनले “एमाले प्रमुख वामपन्थी पार्टीमात्र नभएर देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो,” भने ।

अध्यक्ष ओलीले एमाले ठूलो दल भए पनि सजिलोसँग काम गर्न नदिएको र अनेकथरि तत्वले एमालेविरुद्ध लाग्ने गरेको आरोप लगाए ।

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले तराई–मधेशको विकासका लागि तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुनुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले मधेशमा पहिलो पार्टी बनेर विकास लहर ल्याउने बताउँदै राष्ट्रिय नीतिका बारेमा अन्य दल मौन बसेको आरोप समेत लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।