जेठ ३० – सिन्धुपाल्चोकको दुर्गम भेगमा पर्ने गोल्चे गाविस–१ लिदी गाउँमा तीनदिनदेखि फैलिएको अज्ञात रोगबाट एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना सिकिस्त बिरामी परेका छन् ।

रोग लागेको २४ घन्टाभित्र सोमबार गाउँका ५३ वर्षीय वरिष्ठ लामा भीमबहादुर दोङको मृत्यु भएको हो ।

सुरुमा पेट पोल्ने, ज्वरो आउने, पिडौँलाको मासु बटारिने, मुख र दिसाबाट रगत आउने लक्षण देखिने सो रोग लागेको २४ घन्टाभित्र मृत्यु हुने गरेको स्थानीय सातकन्या प्राविका शिक्षक सुब्बा तामाङले जानकारी दिए ।

स्थानीय उपस्वास्थ्य चौकी तीन घन्टाको पैदल दूरी र जिल्ला सदरमुकाम एक दिनको दूरीमा पर्ने हुँदा बिरामीहरुले औषधिको अभावमा गाउँको जडीबुटीमा निर्भर रहनुपरेको बताइएको छ ।

गाउँलेहरु प्रायः माथिल्लो भेगको खर्कमा बस्ने हुँदा गाउँमा बिरामीको हेरविचार पु¥याउन कठिनाइ परेको र १५० जना विद्यार्थी रहेकामा तीनदिनको बीचमा रोगको डरले विद्यालय प्रायः शून्यको अवस्थामा रहेको शिक्षक तामाङको भनाई छ ।

सो गाउँमा औषधिसहित स्थानीय उपस्वास्थ्य चौकीबाट आजै एक टोली खटाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।