जेठ ३० – जति हामी एक्कासौँ शताब्दीको कुरा गरे पनि अनि सुचना क्रान्तिको कुरा गरे पनि कतिपय हाम्रा पुरातनवादी परम्पराहरु जस्ताका तस्तै अझै पनि हाम्रो समाजमा छन् ।
त्यस्ता परम्पराहरु जो उहिलेदेखि चलिआएका थिए र अहिले पनि चलि नै रहेका छन् । त्यस्तै एउटा परम्परा हो भाउजुलाई आफ्नै श्रीमती बनाउनु पर्ने ।

जुन परम्परा अनुसार बिधुवा बनेकी आफ्नै भाउजूलाई पत्नीका रुपमा स्वीकार गनुपर्ने हुन्छ अनि त्यस्तो चलन अहिले पनि पश्चिम तराईका चौधरी÷थारु समुदायमा रहि आएको छ ।
झण्डै दुई दशक अघिसम्म यो प्रचलन चौधरी÷थारु समुदायमा व्यापकरुपमा देखिए पनि त्यसपछिका वर्षमा भने क्रमशः हट्दै गएको थारु समुदायका अगुवाहरु बताउँछन् । तर पूर्ण रुपमा भने हटेको छैन ।
“पहिले यो चलन धेरै थियो, तर चेतनामा आएको परिवर्तनसँंगै अहिले निकै कमले मात्र आफ्नी सहोदर भाउजूलाई पत्नीको रुपमा स्वीकार्ने गरेका छन् यो थारु अगुवाहरुको भनाई हो ।
थारु समुदायमा रहेको यो प्रचलनकै कारण सहोदर दाजुको विवाहको दिन भाइले कान्छो दुल्हाको रुपमा दुल्हीको घरसम्म पुग्नुपर्ने हुन्थ्यो ।

कुनै कारणवस दाजुको अकालमै मृत्यु भएमा एक दुई सन्तानसम्म जन्माएकी भाउजूलाई देवरले श्रीमती स्वीकार्नु पर्दथ्यो ।
श्रीमान्को निधनपछि बिधुवाको जीवन कष्टकर नबनोस् र बिधवाको संरक्षण र रेखदेख पुगोस् भन्ने मनसायका कारण यो समुदायमा यस्तो प्रचलन प्रारम्भ भएको हुन सक्ने थारु अगुवा नेताहरु बताउँछन् ।
यद्यपि, बिधवा भाउजूलाई पत्नीको रुपमा स्वीकार गर्ने काम दोहोरो सहमतिमा मात्र हुने गर्दथ्यो । खासगरी त्यतिखेरको थारु समुदायमा चेतनाको कमी देखिएकाले त्यसताका यो परम्परा निकै फष्टाएको भए पनि अहिले विस्तारै हट्दै गएको छ ।
तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा श्रीमान् मारिएका केही शहीद पत्नीले कैलालीमै पनि आफ्ना देवरसँग घरजम गरर बसेका उदाहरण अझै छन् । तर, त्यसपछिको अवस्थामा यस्तो घटना नसुनिएको थारु समुदायका अगुवाहरु बताउँछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।