जेठ २८ – देशमा संविधान जारी हुन नसकेसँगै गोरखामा प्रहरी आतंक बढेको छ । विशेष गरी एमाओवादीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गुण्डा प्रयोग गरेर कुटपिट गर्ने गरेको छ । गोरखाका प्रहरी नायव उपरीक्षक बसन्त बहादुर कुँवरको प्रत्यक्ष निर्देशनमा जिल्ला स्थित मसेल गाउँ विकास समिति वडा नं. ४ माझथोकमा आफ्नै घरमा बसिरहेका नरेन्द्र बस्तीलाई कुटपिट गरी प्रहरीले दुईवटै खुट्टा भाँचिदिएको छ ।

तँ माओवादी हो कि हैन भन भन्दै उनीहरुले आफूलाई कुटपिट गरेको पिडित वस्तीले आज गोरखा अस्पतालमा पत्रकार सम्मेलन गरी बताउनुभएको छ । म माओवादीको शुभचिन्तक हो मात्र के भनेको थिएँ , ए तेरो नेता बाबुराम र प्रचण्ड हैन भन्दै १०/१५ जनाको समूहले आफूलाई लाठी र बुठले हानेको उहाँले बताउनुभयो ।
माओवादीको जनयुद्धकालमा तैं हैनस् माओवादीलाई भात खुवाउने अव तलाईँ भात खुवाउन माओवादी अस्पतालमा आउँछ भन्दै प्रहरी निरीक्षक पुष्पराज मल्ल र सुनिलजंग शाहको टोलीले वस्तीलाई कुटपिट गरेको हो ।

दुवै खुट्टा भाँचिएका वस्तीको गोरखा अस्पतालमा उपचार भैरहेको छ । वस्तीको  दुवै खुट्टा भाँचिएको छ । यो ठिक हुन कम्तिमा तीन महिना लाग्छ, उपचारमा संलग्न डा. सुजनराज पौडेलले भन्नुभयो ।
प्रहरी नायव उपरीक्षक बसन्त बहादुर कुँवरले नेपाली काँग्रेसका उप – सभापति मोहन प्रसाद पोखरेलको प्रत्यक्ष कमाण्डमा काम गरेको एमाओवादी गोरखाका जिल्ला सेक्रेटरी चुडामणि खड्काले बताउनुभयो ।
काँग्रेसका पेशेवर गुण्डाहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय घ्याम्पेसालमा प्रहरीले पालेर राखेको एमाओवादी आरोप  छ । पेशेवर गुण्डाहरुले प्रहरीकै रासनपानी खाने गरेको घ्याम्पेसालका स्थानीयले जानकारी दिएका छन् ।
शनिबार एमाओवादी गोरखाले मसेलमा गरेको कोणसभापछि सदरमुकाम र आरुघाट इलाकाबाट गएको  ६० जनाको प्रहरी टोलीले मसेल स्थित माझथोकमा साँझ ७:३० बजे आतंक मच्चाएको थियो ।
घरमा बसिरहेका बुढाबुढी, केटाकेटी र छोरी बुहारीहरुलाई समेत हातपात गरेको छ । प्रहरीको आक्रमणमा परी दर्जनभन्दा बढी महिलाहरु घाइते भएका छन् । उनीहरुले स्थानीयको दर्जन भन्दा बढी घरहरु तोडफोड गर्नुका साथै गाउँका सबै घरहरु खानतलासी गरेका छन् ।
गएको विहीबार मसेल गाउँ विकास समिति स्थित विन्द्रावती उच्च मा.वि.मा अखिल क्रान्तिकारी इकाई समिति बनाए लगतै काँग्रेसका मानिसहरुले एमाओवादीका तमुवान राज्य सदस्य गोपाल बराइलीलाई कुटपिट गरेका थिए । त्यसको भोलिपल्ट सोही समूहले अशोक वस्तीलाई खकुरी हानेर घाइते बनाएको थियो ।
उहाँको गोरखा अस्पतालमा उपचार भैरहेको छ । टाउकोमा ६ वटा टाँका लगाइएको उपचारमा संलग्न डा. पौडेलले बताउनुभएको  छ ।
जिल्लामा पछिल्लो चरणमा सहज र सरल परिस्थितिलाई काँग्रेसको निर्देशनमा प्रहरी नायव उपरिक्षक कुँवरले असहज बनाउँदै लगेका छन् ।
कुँवरले पूर्व सभासदलाई समेत संविधान बनाउन नसक्ने सभासदले भनेको  टेर्ने डिएसपी म होइन भन्दै हपारेका छन् ।
यसबारेमा डिएसपी कुँवरले हामीसँग भने – “चाहे स्वेत आतंक भन्नुस् वा प्रहरी दमन भन्नुस् मेरो छवि राम्रो राख्न म कुनै कसर बाँकी राख्दिन ” काँग्रेसका कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालयमा भात खुवाएर अघि लाई सर्वसाधरण कुट्न लाउने अनि तपाईँहरुको ६० जनाको टोलीले फेरी उनीहरुलाई नै धुलाई गर्ने अनि यो मानव अधिकार उलंघन र प्रहरी दमन नभए के हो त भन्ने प्रश्नमा एकतर्फी रुपबाट घटनालाई नलिन डिएसपी कुँवरले आग्रह गरे ।

स्थानीयले झ्यालमा राख्न लगेको रडका टुक्रालाई माओवादीको हतियार भन्दै प्रचार गरेका कुवँरले आज घटनाको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गरेपनि रड देखाउनुस् न त भन्दा स्थानीयले झ्यालमा राख्न लगेको रहेछ त्यो गलत प्रचार भो भनि देखाउन सकेन्न ।

जनयुद्ध कालमा माओवादीलाई भात खुवाउने जतिलाई प्रहरी लगाएर धुलाई (कुटपिट) गर्ने योजना जिल्ला प्रहरी कार्यालय गोरखाको हो भन्ने प्रश्नमा एकतर्फी प्रश्न नसोध्न भन्दै जवाफ दिन आनाकारी गरे ।

गाउँमा प्रहरी आतंक बढेपछि स्थानीयहरु डरले भयभित भएका छन् । आफ्नो घमण्ड र स्वार्थका लागि डिएसपी कुँवरले गरेको क्रियाकलाप प्रति गोरखावासीले विरोध गरेका छन् ।

यसबारेमा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) गोरखाका अध्यक्ष चुडामणि शर्माले प्रहरीले गम्भीर अपराध गरेको बताउनुभएको छ । प्रहरीले दुवै खुट्टा भाँचिदिएका वस्ती वैदेशिक रोजगारमा गएर केही महिना अघि मात्र घर आएका थिए । छुट्टि सकिएर विदेश जाने तयारीमा रहेका वस्तीको दुवै खुट्टा भाँचिएपछि थप समस्या परेको छ ।

                             Watch Video


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।