Monday, August 17, 2026
25.4 C
Kathmandu
Home ब्यानर १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

१४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार बताइने प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीको उपत्यका अपराध महाशाखालाई पत्राचार गरेको थियो। 

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।  

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो।  पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए। 

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित सोमबार मुद्दा दायर भएको थियो। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।